२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

सिरूवा पर्वमा गरिने घाटाेसरी पुजाकाे महत्व र किन पुजा गरिन्छ घाटाेसरी ?


२ बैशाख २०७६, सोमबार  

0
Shares

20190415_125905

झापा ३ , वैशाख / काेच समुदायकाे महान पर्व सिरूवाकाे आज दाेस्राे दिन काद ( हिलाे ) खेल्दै उनीहरूले घाटाेसरी विसर्जन गर्दै छन् । झापा, माेरङ्ग, सुनसरीलगायत तराईका जिल्लामा बसाेवास गर्ने ती समुदायहरूले हर्षाेल्लासकासाथ भव्यरूपमा मनाउदै छन् ।
घाटोसरी विश्व भरि रहेका कोच समुदायहरुको महान पर्व हो । यो पर्व बैशाख २ गते हरेक बर्ष हर्षोलासका साथ मनाउने परम्परा रहि आएको छ । यो पर्वमा कोच समुदायका महिलाहरु खोलाको किनारमा गई पुजाअर्चना गर्छन । यस पर्वमा घाटोसरी माताको पुजा गरिन्छ । केही कोच समुदायका परिवारहरु साजी माता र तिस्ताबुरी माताको रुपमा पुजा गर्छन । उनीहरु बिभिन्न घरमा गई घाटोसरी गीतहरु गाउँछन त्यस परम्परालाई भाजाखेली पनि भनिन्छ ।
पर्व कसरी मनाइन्छ ?
घरको प्रमुख महिलाले माटोका दुईटा घडाहरु बनाउँछन जसलाई घाटो भनिन्छ । ति घडाहरु मध्ये एउटा घडालाई ढेनी (कुमारी या अविवाहित महिला) र अर्कोलाई छुवाती (शन्तान भएका महिलाहरु) भनिन्छ । ती घडाहरुलाई भान्साकोठा भित्र चुलाको छेऊमा प्रतिस्थापन गरिन्छ । खोलाको पवित्र बालुवा बटुलेर त्यही बलुवा माथि घडाहरु राखिन्छ । घाटोसरी देवताको आवहान घाटोसरी गीत गाएर गरिन्छ, गाजल र अबिरको लामा लामा टिकाहरु घडाहरुमा लगाइन्छ र ति घडाहरु(घाटोहरु) मा देवताको बास भएको बिस्वासका साथ परिवारजनहरु उक्त घाटोसरी देवता समक्ष सम्पुर्ण परिवारजनको सु–स्वास्थ्य, दिर्घायु, शान्ति, सुःख, समृद्धिको कामना गर्दछन । परिवार जनबाट जान – अनजानमा भएका गल्तीहरु क्षमाको लागि क्षमा पुजा गरिन्छ । परिवारको वार्षिक कार्ययोजनाहरु प्रार्थनाको रुपमा घाटो सरी माता सामु समर्पित गरिन्छ । यदी मनोवान्चित फल प्राप्त भएमा उक्त परिवारजनले आगामी बर्र्षमा थप एउटा घडा प्रतिस्थापन गर्दछन जुन निरन्तर रुपमा बढाउने प्रचलन छ । घाटोसरी मातालाई घाटोको फुल (खेतमा पाइने साना साना रंगिबिरंगी फुलहरु), गाजिमुरी(चना मुरई), बरी (दालको पकौडा), हरियो आँप चढाइन्छ । दिउसो उक्त घडाहरुलाई बेतको ढाकीमा राखी सोभा यात्रा घाटो सरी गित गाउँदै खोला सम्म पुर्याइन्छ । उक्त सोभायात्रामा नजिकैका गाउँ, टोल, बस्तीका महिलाहरु भेला भई आफना आफना घडाहरुलाई बिसर्जन गर्न नाच्दै गाउदै खोला सम्म पुर्याइन्छ । बगिरहेको खोलाको डिलमा कोलाको पात माथि राखि पानी, दुध, अक्षता, पान सुपारी, नैबेदले पुजा गरिन्छ । बिसर्जनका घाटो सरी गीतहरु महिलाहरुले बिभिन्न लय, धुन, शब्दहरुमा गाउँछन् । सबै महिलाहरु पालै पालो आ – आफना गीतहरु गाउने क्रम सकिए पछि सबै जनाले आफुले पकाएका बिभिन्न परिकारहरु एक अर्कालाई प्रसादका रुपमा बाडेर खाने प्रचलन छ । ति परिकारहरु मध्ये सात सागी बैसाखी (सात सागसब्जिको समिश्रण) जुन चैत्र अन्तिममा पकाएर बैशाखमा खाने परिकार पनि एक हो । यो खाध्य परिकारहरु खाने क्रम समाप्त भै सके पछि सबै महिलाहरुले अठिया कोला आधि खान्छन अनि “एलाई बेलाई केलाई साग” भन्दै आदि कोला त्यही फयाक्ने परम्परा रहिआएको छ । अन्त्यमा घर फर्किने बेला सबै महिलाहरुले नयाँ छाँता ओडछन र खोलाको पानी छाँताहरुमा छम्केर उक्त छाताबाट खसेको पानी काँसको लोटामा राखी घर ल्याई आफना घर आँगनमा र बहु मुल्य बस्तुहरुमा छर्कीने प्रचलन रहिआएको छ ।
अर्थ र महत्व
सात सागी बैशाखी ः हाम्रो शरिरलाई चाहिने सातवटा पोषक तत्वहरुले मात्र सन्तुलित आहार(बेलेन्स डाइट) प्रदान गर्दछन अतः ति सात पोषक तत्वहरु निरन्तर रुपमा हामीले सेवन गर्नु पर्दछ । प्रकृतिले प्रत्येक याममा आफनै बिशेषता बोकेको फल फुल तथा साग सब्जीहरु प्रदान गर्दछ अतः ति प्राकृतिक आहारहरु सन्तुलित रुपमा सेवन गर्नु पर्दछ । बिश्व खाध्य संकटको संघारमा गईरहेको अवस्थामा हामी मानवहरुले खाध्य पदार्थहरु खेर फयाक्नु हुँदैन । आँफु अघाएर मात्र हुँदैन, आफना छरछिमेक, बन्धु बान्धवहरुलाई पनि आफना परिकारहरु ग्रहण गराउनु मानव धर्म हो । सबैमा सहकार्य र बिश्व बन्धुत्वको भावना कायम रहोस ।
पानीका स्रोतहरुमा पुजा आर्चना ः सजिब बस्तु हुन पन्च तत्वहरुको समिश्रण चाहिन्छ र ति पन्च तत्व मध्ये पानीको महत्वपुर्ण भुमिका हाम्रो शरिरमा हुन्छ । हाम्रो पृथ्वीको तिन भाग पानी रहेको छ भने शरिरको पनि तिन चौथाई पानीले बनिएको छ त्यसैले पानीका स्रोतहरुलाई सफा राखौ, मुर्ति रुपी देवता भन्दा यी प्रकृतिक देवताहरु सम्पुर्ण जिव आत्माहरुको कल्याणका लागि बनिएका हुन अतः सम्पुर्ण मानवहरुको परम दायित्व यि जलस्रोतको रक्षा गर्नु हो । पानीलाई देवताको रुपमा स्विकार गर्दै यसलाई औषधी एवम् जिवन रक्षाको कवचको रुपमा विस्वास गरि प्रयोग गरेमा सम्पुर्ण जनको कल्याण हुन्छ ।
माटोको घडा पुजन घाटोसरी ःमाटो नै सम्पुर्ण जिवहरुको जगत जननी हुन त्यसै गरि महिलाहरु मानव जिवनको सृष्टीकर्ता हुन अतः महिलाहरुलाई भगवानको रुपमा आदर, प्रेम र सम्मान गर्नु पर्छ , जुन परिवारमा महिलाहरु खुसी रहन्छन त्यो घर सुख, सम्पत्ति, बेैभव, शान्ति, सुरक्षा र अपार आनन्दले भरिएको रहन्छ । घाटोसरी देवता निराकार हुन अतः ईश्वर जहाँ त्यही छन् उनको शक्ति अपरमपार छ ।
घाटोसरी गीतहरु ः गीत संगीतले मानव जीवनलाई आनन्दमय तुल्याउछ अतः भगवानको गीत भनेर भागवत गीतालाई भनिए झै मानव जीवनमा आई पर्ने घटना दुर्घटना, शुख र दुखका गीतहरुको माध्यम बाट शारिरिक, मानसिक, सामाजिक रुपमा बलिष्ठ हुन मद्धत गर्दछ । गीत मार्फत परमात्मासँग एकआकार हुन मद्धत मिल्दछ अनि सबै प्राणीहरुमा माया, ममता र अपनत्वको प्रादुर्भाव हुन सक्छ ।
अठिया कोला ः औषधीय गुण नभएको कुनै बनसपति हुँदैन, तर चिन्न जान्नु पर्दछ अतः अठिया कोलाको सेवन झाडा पखाला, पेट दुखाईमा प्रयोग गरिने एक औषधीय गुण भएको फल हो । चाड पर्वको बेला मिठा मिठा परिकारले पेट बिग्रिएमा यसको सेवन लाभ दायक हुन्छ र पेट सफा राखी पाचन प्रणालीमा मद्धत गर्दछ ।
छाँताको प्रयोगः बैज्ञानिक आविस्कारहरु मानव कल्याण हेतु प्रयोग गर्नुृ पर्दछ र ति सामग्रीको प्रयोग गर्दा इश्वरलाई धन्यवाद दिई प्रयोगमा ल्याउन उचित हुन्छ अतः कोच समुदायले बैशाख महिनामा बिधिवत रुपमा जल देवतालाई साक्षि राखेर छाताको प्रयोग गर्ने गर्दछन । घाटो सरी माताले आफना परिवार जन, छरछिमेक, बन्धु बान्धव सबैलाई एउटै छाता मुनी राखी रक्षा गर्दछन भन्ने जनबिश्वास पनि छ ।
सबैमा पानी सिरुवा, काद सिरुवा, रंग सिरुवा साथै नयाँ बर्ष २०७६ को हार्दीक मंगलमय शुभ कामना सहित शु स्वास्थ्य, दिर्घायु, सुःख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
साभार : अरुण राजबंशीकाे फेसबुकवालबाट

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : २५ बजे