२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

गाैरीगंजकाे ऐतिहासिक पृष्ठभूमिकाे एक सिंहावलोकन


२३ पुस २०७५, सोमबार  

0
Shares

20190107_164113

गाैरीगंज २३, पुस /झापा जिल्लाका साविक महाभारा, कोरोबारी, गौरीगञ्ज र खजुगाछी गरी ४ वटा गाविसहरु समावेश गरी गौरीगञ्ज गाउँपालिका बनाइएको हो । गाउँपालिकाको नाम गौरीगञ्ज राखिएको छ । यो नामाकरण हुनुका पछाडि यहाँ पर्ने एक धार्मिक तथा साँस्कृतिक खोलो गौरियासँग जोडिएको बताइन्छ । धेरैवर्ष पहिले गौरिया खोलाको किनारमा बस्ती बसेको पाइयो । त्यसबेला मानव बस्तीलाई गञ्ज भनिन्थ्यिो । त्यसैले गौरिया खोलाको किनारमा बसेको बस्तीलाई गौरियागञ्ज भन्न थालियो । त्यही गौरियागञ्ज विस्तारै गौरी गञ्ज बन्यो र त्यो पनि अपभ्रंस हुन गई कालान्तरमा गौरीगञ्ज हुन गएको त्यहाँका बुढापाकाहरु बताउँछन् । यो भनाईलाई विश्वास गर्नुपर्ने आधार छ किनभने गौरीगञ्ज भएर बग्ने गौरिया खोला अहिले पनि त्यही नामबाट प्रख्यात छ ।
यसक्षेत्रको ऐतिहासिक पक्षको खोजी गर्दा राष्ट्रिय एकीकरणको सन्दर्भमा पुगिन्छ , स्वर्गीय श्री ५ पृथ्वीनारायण शाहको शासनकाल पूर्व मोरङ र झापामा सेनवंशको राज्य थियो । सन १७७३ मा अभिमानसिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे, त्यहाँका राज कर्णशेन भागेर धरानको विजयपुर पुगे । सनं. १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए । अभिमानसिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किँरातको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो, सिंहलिला (फालेलुङ डाँडा) पहाडको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिकिम राज्यबाट सताइएका लिम्बू जातीहरु गोर्खालीसँग सम्झौता गरी नेपाल एकीकरणमा संमाहित भएकाले श्री ५ पृथ्वीनारायण शाहको पालामा नेपालको सीमाना पूर्व पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदीक्षेत्रसम्म फैलियो । सनं. १७८३ मा अर्थात श्री ५ रणबहादुर शासहको शासनकालमा नेपालको सीमाना पश्चिमतर्फ कुमाल गडवाल र पूर्वतर्फ टिस्टा नदीसम्म पुगेको थियो तर सनं. १८१४ मा अंग्रेजले विराटनगर र रंगेली बीच पर्ने ‘धनपुर’ भन्ने स्थान र झापा बजारमा (हाल झापा गाउँपालिका) आक्रमण गरी आफ्नो कब्जामा लियो, बाध्यताबस १८१६ मार्च ४ मा सुगौलीको सन्धीमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सीमाना हुन पुग्यो ।
पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गौश्वाराले हेर्ने गर्दथ्यो । पछि उक्त मोरङ गौश्वरा हालको झापा गाउँपालिकामा सा¥यो, जुन गाउँ हाल पनि झापा बजार नामले चिनिन्छ । त्यही पुरानो इतिहासलाई आधार मानेर अहिले झापा गाउँपालिका राखिएको छ । तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा झापा जिल्लाको नाम रहेको हो भन्ने ऐतिहासिक तथ्य र किंवदन्तीहरुमा रहेको पाइन्छ ।
शाह वंशको इतिहास सुरुहुनु अघि गौरीगञ्ज गाउँपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्रागज्यातिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्य देश अलग हुँदा गौरीगञ्ज भेग मत्स्यदेश हुन पुग्यो । यदाकदा मिथिला पुण्ड्र र किरातहरुको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै गएपछि यो क्षेत्र मुरेहाङको मोरङभित्र पर्यो । यसैगरी विजयपुर राज्यको स्थापना भएपछि भने गौरीगञ्ज क्षेत्र विजयपुरकै अधीनमा रह्यो । अघि गौरीगञ्ज क्षेत्रलाई मात्रै होइन, झापा जिल्लाका अधिकांश भाग घना जङ्गलले ढाकेको पाइन्छ । यहाँका नदी किनारमा केही जातजातिका मानिसहरुका स-साना बस्तीहरु थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारमा वा पहाडको फेदीमा बस्न आवश्यक थियो र यस भेगमा वेलावेलामा पाइने पुराना बसोबासका अवशेषहरुले यसै कुराको संकेत गरेका छन् । गौरीगञ्ज आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरु पाइएका छन् । तिनिहरु कतिपय नासिएका छन् भने कतिपय अहिलेसम्म पनि उजागर हुन सकेका छैनन् । झापा जिल्लाका यस्तै नदी किनारमा बसोबास भएको मानव बस्ती मध्येको एक गौरीगञ्ज पनि हो । पुरानो गौरिया नदीको किनारमा हुर्किएको सभ्यता वा बस्ती नै गौरीगञ्ज भएको चर्चा माथि नै गरिसकिएको छ ।
मोरङको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजा लोहानसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरुको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी पूर्वको मकवानपुर लोहान सेनले पाएको हुनाले यो भेग पनि मकवानपुभित्र पर्यो । यसैगरी अझपछि भने हरिहर सेनका नाती विदाता इन्द्रसेनले मकवानपुरबाट विजयपुलाई अलग्गै राज्य बनाएको हुँदा गौरीगञ्ज लगायतको स्थान विजयपुरको अभिन्न अंग बन्न पुग्यो । सेनकालभन्दा अघि नै विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरुको अधीनमा परेको देखिन्छ । यसैक्रममा वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरणसँगै यो भुभाग पनि वृहत्तर नेपालमा गाभिएको पाइन्छ । विं.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै गौरीगञ्ज गाउँपालिकाले ओगटेको क्षेत्र मोरङ जिल्लाको दक्षिणी अर्थात सीमावर्ती भागका रुपमा रहन पुग्यो । जसलाई नेपालको संविधान २०७२ ले अंगीकार गरेको गणतन्त्र नेपालको राज्य पुनर्संरचनन गर्दा ४ वटा सीमावर्ती गाविसहरुको भुभागलाई समेटेर गौरीगञ्ज गाउँपालिका बनाइएको हो ।
क्रमश…

20190107_163805

20190107_164051

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  ११ : ३० बजे