पेशल आचार्य /
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म समस्त हिन्दू धर्मावलम्बीहरूले देवी पूजनोत्सवका रुपमा दसैँलाई मनाउने सनातन परम्परा रहिआएको छ । नेपाल, भारत, बंगलादेश, भुटान र विश्वमा जहाँजहाँ नेपालीहरू यत्रतत्र छरिएर रहेका छन्, त्यहाँ धूमधामका साथ दसैँ मनाउने गरिन्छ । दसैँ भावनात्मक पर्व हो । यो त्यसै नेपालीको महान् पर्व भएको होइन ।
भनिन्छ–जतिजति दसैँका बारेमा मानिसहरू विरोधका ‘सेरगुल’ झिक्छन् त्यतित्यति यो समाजमा लोकप्रिय हुँदै गएको छ ।
पहिलेका दसैँहरू ‘अर्ग्यानिक’ हुन्थे आजकालका दसैँ प्रायः ‘ब्रोइलर’ हुने गरेका छन् । दसैँको चटारो साउनमा खेतीपातीको मैजारो भएपछि सुरु हुन्थ्यो । किसानहरू आफूसँग भएका जिनिसपातहरू सुक्रीविक्री गरेर पैसाको जोहो गर्थे । अन्नपात नहुनेलाई चामलले पिरोल्थ्यो ।
अक्षताका लागि उनीहरू कोही भदैया धान बिक्री गर्थे । तराईतिर सनपाट बेच्ने चलन थियो । गमडी नामको धान पाक्थ्यो –भदौ असोजतिर । तरकारी हुनेहरू तरकारीतिर लाग्थे भने खसीबोका पाल्नेहरूले खसीबोका सुम्सुम्याउन थाल्थे । विक्री गर्दा ‘सह’ पसोस् भनेर ‘दुमु’ राख्ने चलन थियो ।
जे छ त्यो विक्री गरेर लुगा, नुन, चिनी, मरमसला र पैसोको जोहो गरिनु कुनै नौलो कुरा थिएन । जागिरेहरू जागिरबाट बाँचेका हुन्थे । जागिरले दिने पैसोको भार पनि निकै हुन्थ्यो । जिनिस सस्तो पैसा महँगो थियो । अहिले उल्टो बनेको छ पैसा सस्तो र जिनिस महँगो भा’बेला छ ।
पहिले र अहिले पनि भारतको पश्चिम बंगालको कोलकातामा दुर्गा पूजाका रूपमा कालीको भव्य पूजा हुन्छ भने भारतैभरि कतै दशहरा, कतै दुर्गापूजा र अधिकांश नेपाली भाषी रहेका स्थानमा दसैँका रूपमा बडादसैँलाई मनाउने चलन रहिआएको छ । यो प्रेम, भ्रातृत्व, सहचार्य, मेलमिलाप र आनन्दको पर्व हो । के कुलीन, के कंगाल सबैसबैले दिल खोलेर आफ्ना गच्छे अनुसार दसैँलाई मनाई आएका छन् । मनाउँछन् ।
दसैँको साँस्कृतिक महत्व जब कृषि युगको थालनी भयो अनि शनैःशनैः भएको पाइन्छ । कृषिकार्य प्रायः वर्षैभरि भए पनि वर्षाको समयमा प्रमुख खाद्यान्न बालीका रूपमा चिनिएको धानको खेती वर्षामा हुने र खेतीपाती पछि किसानहरूलाई केही फुर्सद् हुने, तरकारी र फलफूल पनि शरद ऋतुमा राम्रोसँग फल्ने, गाईभैँसीहरू ब्याउने समय भदौ–असोजमै हुने भएकाले यो समय खेतीपातीको कर्मबाट केही लामो समय सुस्ताउने पनि हुने भएकाले दसैँको महत्व विगत्को खेती युगमा अधिक रहेको समाजशास्त्रीहरू बताउने गर्र्दछन् ।
ऋतुचक्रमा वसन्त पहिलो नम्बरको ऋतु वा ऋतुराज हो भने शरद दोस्रो सुन्दर र सन्तुलित ऋतु हो । न जाडो, न गर्मी, न झरी, न धूलो सबैतिरबाट शरदको शोभा कान्तिमय हुने गर्छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालले दसैँका बारेमा आफ्नो ‘ऋतुविचार’ नामक काव्यमा शरदविचार अन्तगर्त लेखेका छन् ।
‘हट्यो सारा हिलोमैलो,
हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा
भयो आनन्दको हर्ष ।
जता जाऊँ, भन्छन् सबै
दसैँ आयो, दसैँ आयो ।’
मालश्रीको अपार आनन्दमय धून होस् कि धोवीनी चराको मिर्मिरेमा हुने कलरव, पहाडपर्वत, डाँडाकाँडामा देखिने प्राकृतिक कान्ति, तराईका फाँटका दिग्दिगन्तसम्म देखिने सिमाहीन हरियाली र सुन्दरता, नदनदीका सिष्ट एवम् काञ्चन मृदुल दृश्यांशहरूले जो सुकै मानिसको मनलाई हरण गरेको पाइन्छ ।
लिच्छवी कालसम्म असोजको दसैँ र चैतको दसैँ दुवैको सघन महत्व रहिआएकोमा मल्ल राजा सिद्धिनरसिँह मल्लका पालामा कुनै एउटा चैते दसैँमा कान्तिपुर खाल्डोमा चैते दसैँ मनाइरहेका कान्तिपुरवासीहरूलाई पखालाले सताएर हजारौंका संख्यामा जनताहरू मृत्युको मुखमा पुगी सोत्तर भएकाले राजाज्ञानुसार नै चैतमा मनाइने दसैँलाई सानो र असोजमा मनाइने दसैँलाई ठूलो (वडा) दसैँका रुपमा मनाइने परम्परा चलेको हो भन्ने मत इतिहासकारहरूको रहेको पाइन्छ ।
दसैँको अन्तर्वस्तुमा रामायणको कथा समेत आकर्षित भएको पाइन्छ । मर्यादा पुरुषोत्तम रामचन्द्रले रावण बधका लागि नवदुर्गाको नौ दिनसम्म पूजाआजा गरेर सेतुबन्ध रामेश्वरम्मा परदेशी भएकै अवस्थामा दुर्गाको विधिवत् पूजार्चना गरी देवीप्रसाद ग्रहण गरेपश्चात् राम–रावण युद्धमा सफलता प्राप्त गरेकाले आज पनि हामी दसैँलाई असत्यमाथि सत्यको, पापमाथि धर्मको, दुराचारमाथि सदाचारको, अन्यायमाथि न्यायको र अहम् माथि सर्वभावको प्रतीकका रुपमा पूजा गर्दै आएका छौं ।
वर्तमान परिवेशमा नेपाल संघीय र धर्मनिरपेक्ष गणतन्त्रात्मक राष्ट्र घोषणा भैसकेको परिस्थितिमा यो झट्ट हेर्दा हिन्दूहरूको मात्र चाडजस्तो देखिए तापनि विहंगम दृष्टिबाट हेर्दा यसले जातीय, धार्मिक र साँस्कृतिक सेतुका रूपमा समेत काम गरेको छ । जनजाती समुदायका केही मानिसहरूले दसैँमा लगाउने सेतो टीकालाई युद्ध संस्कृतिसँग पनि जोडेर हेर्न सकिन्छ ।
राज्य विस्तारका क्रममा वा नेपालीहरू सम्मिलित प्रथम र द्वितीय विश्वयुद्धमा युद्ध क्षेत्रमै सहभागी भएका बेला कुनै समय दसैँ प¥यो । त्यो समयमा राज्यका तर्फबाट लड्ने वीरयोद्धालाई दसैँका बेलामा पनि छुट्टी मिलेन । देशरक्षार्थ रणमैदान मै रहनुको बाध्यताले उनीहरूलाई सतायो । अनि तिनीहरूले एकापसमै रमाइलो गर्दै युद्ध मैदानमा पाकेका वा भेटिएका नाभो धानलाई चामल बनाएर, डाँडापाखामा रहेका चुनढुङ्गालाई पानीले भिजाई बन्दुकको कुन्दाले चामलमा चुन मिलाएर जेष्ठ सैनिकले कनिष्ठ सैनिकलाई रोलक्रमले टीका लगाइदिएकाले सो संस्कृति उनीहरूका सन्ततीले सिको गरेर अझै पनि केही जातजातिहरूमा सेतो टीका लगाउने परम्परा पाइन्छ ।
अन्य धेरैजसो जातहरूमा चामललाई दहीमा मुछेर अविर या रातो रङ्को मिश्रण गरी टीका बनाउने र सोही टीकालाई भगवतीका प्रसादका रूपमा लगाउने चलन चलेको हो ।
टीकाका ४ प्रकारहरूमध्ये सबैभन्दा धेरै चल्तीमा आएको प्रकार रातो रङ् मिसिएको टीका हो । यो देवकार्यका सबैजसो अवस्थामा प्रचलित छ । दोस्रो प्रकार पहेँलो टीका हो । यो पितृ कार्यका लागि प्रयोग गरिन्छ । श्राद्धादिमा यो प्रचलनमा ल्याइन्छ । दसैँमा पनि पुराना र पारम्परिक रुपमा एकल महिला र केही पुराना सोच सँगालेका महिलाहरूले केसरीमिश्रित टीका लगाउने गर्दछन् ।
तेस्रो प्रकारको टीका दहीमा चामल मुछेर लगाइने गरिन्छ । यो प्रचलनभित्र रङलाई प्राणीको रगत मानेर त्यसलाई हटक गरी सेतो अर्थात् शुभ्र (स्निग्ध, सफा) को अर्थमा लगाइएको पनि हुन सक्छ । चौथो प्रकारको टीका कालो रङ् मिसाएर लगाइने विरोधको प्रतीक हो । यो टीका उत्सव भन्दा पनि विरोधका लागि लगाइने गरिन्छ । ससाना नानीहरूलाई भूतप्रेत नलागोस् भनेर निधारमा आमाको पैतालाको धूलो र गाजलको टीको लगाइदिने परम्परा रहिआएको छ । यो एक प्रकारले ‘कवच’ पनि हो ।
दसैँमा चण्डीपाठ गरिन्छ । चण्डीलाई ‘दुर्गा सप्तसती’ भनिन्छ । देवीको महात्म्य हुनाले यो आफैँमा महान् छ । दूरदेश जाँदा, आपत्विपत् हुँदा र सकसमा पर्दा मानिसहरू देवीलाई सम्झने गर्छन् ।
भनाइ नै छ –‘सदा भवानी दाहिना, सम्मुख रहून गणेश, पञ्चदेव रक्षा गरून, ब्रह्मा, विष्णु, महेश ।’ हुन त चण्डीपाठ वर्षैभरि र सबै ऋतुमा समान भावका साथ पनि गर्न सकिन्छ । चोखो खाएर, पवित्र मनले, शुद्ध भएर, न्यास ध्यानका साथ शारदीय पर्वोत्वसमा गरिएको चण्डी पाठले भने मनलाई आनन्दित बनाउने, अनेक प्रकारका विघ्नवाधाहरू हर्ने, आत्मिक शान्ति प्राप्त हुने र सोचमा भक्तिको संचरण हुने जनविश्वास शाक्तहरूले गरेका छन् ।
शक्तिलाई मान्नेहरू नै शाक्त हुन् । सवारी, शस्त्र, हातहतियार र पाइन्मा शक्ति परम्परा रहेको छ । जहाँसम्म वली प्रथाको कुरा छ त्यो चाहिँ मानिसले विभिन्न रूपले पक्षविपक्षमा गएर त्यसको व्याख्या गरेका छन् । वैष्णवादि परम्परालाई मान्नेहरूले काटमार र हिंसा नगर्ने भएकाले उनीहरूले मनका कुभावनाहरूको समष्टिगत रूपमा वली दिनु पर्ने मान्यता राख्छन् । देवीलाई पनि उनीहरू साकम्बरीका रूपमा सागपात, फलफूल र तरकारीहरू चढाउने गर्दछन् । यो तर्कमा दम छ । तर जो मासुका लागि निरिह पशुपंक्षीलाई देवीका चरणमा वली दिएर प्रसादका रूपमा मासु ग्रहण गर्दछन्, तिनीहरूको तर्कमा केही हलुकोपन पाइन्छ ।
माता दुर्गाका लागि अखण्ड वलशाली, वुद्धिनिहित मानव र उनैले सृष्टि गरेका हरेक प्राणी समान रूपका सन्तान हुन् । एउटी माताले आफ्ना सबै सन्तानलाई जसरी समान वात्सल्यता प्रदान गर्छिन् त्यसैगरी आफ्ना सन्तानको वली खाएर देवी खुसी हुन्छिन् भन्नु मानिसले आफ्नो वुद्धिलाई आफैँले बोधो बनाउनु हो भन्ने तर्कहरू पनि हिजोआजका आधुनिक समयमा सुनिनमा आएका छन् ।
प्रोटिनको सबैभन्दा बढी स्रोत भएको वस्तु मासु हो । हुन त यो गेडागुडीमा पनि पाइन्छ । मासु प्रोटिनका लागि खाइने र यसले मानिसलाई शक्ति दिने भएकाले पनि यसको खपत आजको जमानामा बढेको हो । कृषि युगदेखि आजको कम्प्युटर युगसम्म मानिसले धेरै प्रविधिगत विकास गरिसकेको छ । च्याउ, पनिर र अन्य सब्जीहरू नै मासुका अनेक विकल्पका रूपमा अहिलेका दुनियाँ सामु छन् । गार्हस्थ रूपमा समेत खानपिन र भिटामिनका रूपमा माछामासु, दूध, अण्डा र अनेक जातका फलफूलको प्रयोग भएका छन् । जहाँसम्म दसैँको माहौलमा मानिसले आफ्नो स्वास्थ्यलाई पर्वाह नगरिकन खाने माछामासु र अण्डाले उसको स्वास्थ्यलाई नै घाटा हुने जनस्वास्थ्यका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू बताउँदछन् ।
दसैँ घरदेश र परदेशका सबै मानिसहरूलाई उही र उस्तै तवरले लाग्छ । फरक के छ भने घरदेशको दसैँमा बढी अपनत्व र रमाइलो हुन्छ भने परदेशको दसैँमा औपचारिकता र खिन्नान्भूति रहेको हुन्छ । दूरदेश गएका कामकाजी मानिसहरू त्यसैले दसैँमा जसरीतसरी पनि घर जाने ध्याउन्नमा हुन्छन् । लामो विदा, घर परिवारहरूसँगको मिलन, नयाँ नयाँ कामको सुरुआत, सम्बन्धको विस्तार र साथीभाइसँगको रमाइलोले गर्दा युरोप अमेरिका भए पनि मानिस कुनै न कनुै बहानामा देश भित्रने आस गर्छ ।
बेपारी र उद्योगीका लागि पनि दसैँ आफ्नो बेपार बढाउने सुयोग्य समय हो । भनिन्छ –यातायात, लत्ताकपडा, खानेकुरा, पेय पदार्थ, मसला र केही गार्हस्थ सामग्रीको विक्री दसैँका नाममा धेरै हुने गर्छ । स्टकमा रहेका सामानहरू पनि बेपारीले यही मौकामा अफरका नाममा ग्राहकहरूलाई भिडाउने गर्दछन् ।
हुँदा खाने र हुने खाने सबैसबै दसैँको अर्थशास्त्रमा महको माखो झैँ चपक्कै टाँसिएका हुन्छन् । केटाकेटी र अर्काका थाप्लामा बेबहार हुनेहरूका लागि दसैँ मजाकै हुन्छ तर जसले आफ्नो थाप्लामा बेबहारको बोझ बोकेको हुन्छ उसका लागि भने दसैँ एक प्रकारले ‘दसा’ लाग्न सक्छ ।
अबको समयमा हामीले आफ्नो औकात र क्षमताले भ्याएसम्म मात्र खर्च गरी दसैँलाई मनाउने परिपाटीको श्रीगणेश गर्नु पर्छ । माता भवानीले सबैमा यही सद्विचार र सद्वुद्धि प्रदान गरून । बडादसैँको असिम शुभकामना । जय देवी दुर्गे ।
‘या देवी सर्वभूतेषु, शक्ति रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।’