१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिसोले विपन्न विद्यार्थीलाई पढनै गाह्रो


१९ पुस २०७४, बुधबार  

0
Shares

student

गौरीगंज २०, पुस / उसैपनि विद्यालयमा उनीहरुको नियमित उपस्थिति हुँदैन । घरमा काम नभएको बेला वा फूर्सदको बेला मात्रै विद्यालय जान र धेरै समय घरायसी काममै विताउन अभ्यस्त । त्यसमाथि हिजोआज बढेको जाडो । कक्षा कोठामा सिमेन्टको चिसो । चिसो भूइँमा पर्याप्त डेक्स बेञ्चको अभाव । बोरा, गुन्द्री , झल्ला आदिको भरमा बस्नु पर्ने बाध्यता । झ्याल ढोका भत्किसकेका जिर्ण भवन । शरीर ढाक्ने कपडा र खुट्टामा टेक्ने जुत्ता चप्पलको पनि अभाव । झापाको ग्रामिण बस्तीका सामुदायिक विद्यालयहरु र ति विद्यालयमा पढने विपन्न बालबालिकाहरुको यथार्थ अवस्था हो यो । यतिबेला कतिपय विद्यालयमा आधा ( पचास प्रतिशत) विद्यार्थीको संख्या घटन थालेको छ ।
पुष लागेसंगै चिसो बढेपछि विपन्न समुदायका बालबालिकाहरुको पठनपाठनमा समस्या भएको छ । अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरु चिसो बढेसंगै विद्यालय आउने संख्यामा कमी हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको हो ।

ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका बालबालिकाहरु चिसोका कारण विद्यालय आउने क्रम घटेको सम्बन्धित विद्यालयहरुले जनाएका छन् ।
दक्षिण पश्चिम झापा गौरीगंज गाउपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको अवस्था पनि उस्तै छ । खजुरगाछी मावि खजुरगाछी, गौरी आधारभूत विद्यालय टेकीटोला,सरस्वती आधारभूत विद्यालय कदमगाछी, जनता आधारभूत विद्यालय चिलहारा, जनता वालविकास आधारभूत विद्यालय डांगीटोला, राष्टिय आधारभूत विद्यालय गौरीयाडांगीलगायत ग्रामिण क्षेत्रका विद्यार्थीहरु न्यानो कपडा, चुत्ता, स्वीटर, ज्याकेट, टोपी नभएको कारण उनीहरु विद्यालय जानबाट वन्चित छन् ।

न्यानो कपडा र पर्याप्त तातो खानेकुरा ( खाजा) को अभावमा बालबालिकाहरु विद्यालय आउन छाडेको झापाको गौरीगञ्ज गाउँपालिका १ महाभारास्थित बालकल्याण माविका प्रधानाध्यापक भोलाप्रसाद खतिवडाले बताए ।
कतिपय बालबालिकाहरु चिसोकै कारण विद्यालय नआउने र विस्तारै बीचैमा विद्यालय छोडेने गरेको प्रधानाध्यापक खतिवडाले बताए । उनले भने – एक दुई दिन गर्दै कतिपय बालबालिकाले स्कूलनै छोडने गरेको उदाहरण प्रशस्तै छन् । उनले विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरणका लागि न्यानो कपडाको आवश्यकता रहेको पनि बताए ।
सोही वडामा पर्ने होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवकुमार मैनाली न्यानो कपडा र जुत्ता चप्पलको अभावमा बालबबालिका विद्यालय आउनै छोडेको बताउँछन् । मैनाली भन्छन्–चिसो अझै बढने हो भने ९० प्रतिशत बालबालिका स्कूल आउनै छाडछन् र घरायसी काममा समय विताउन थालेपछि बीचैमा स्कूल छाडने सम्भावना धेरै हुन्छ ।
करिब सय जनाको हाराहारीमा विद्यार्थी पढने गरेको इन्द्रेणी आधारभूत विद्यालयमा ८४ प्रतिशत बालबालिका सिमान्तकृत र आदिवासी समुदायका छन् । जसमध्ये ५३.३९ प्रतिशत बालबालिका सन्थाल समुदायका छन् ।
चार कोठाका दुई खाली भवन बाहेक विद्यालयमा चाहिने न्यूनतम फर्निचरका सामाग्री, विजुली बत्ती, आदिको व्यवस्था हुन सकेको छैन । सधैं सबै बालबालिकाहरु विद्यालय आउने वातावारण सिर्जना गर्न विद्यालयका तर्फबाट सक्दो प्रयास भएपनि अभिभावकहरुको आर्थिक विपन्नता, कतिपय पूर्वाधार, शैक्षिक सामाग्रीसंगै अभिभावकहरुमा शिक्षा प्रतिको चेतनामा कमीका कारण विद्यालयमा ड्रप आउट ( विचैमा विद्यालय छोडने) समस्या रहेको विद्यालयहरुले जनाएका छन् ।
प्याकुरेलले दिए स्वीटर
यसैबीच झापा दमक ९ स्थित महालक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई दमक ८ निवासी कोषराज प्याकुरेलले स्वीटर प्रदान गरेका छन् । एभरेष्ट बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल तथा प्याव्सन झापाका अध्यक्ष समेत रहेका प्याकुरेलले सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययन गर्ने करिब २ सय जना विद्यार्थीलाई जाडोको समयमा उपयुक्त हुने एक एक थान स्वीटर प्रदान गरेका हुन् । आईतबार विद्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच विद्यालयका अभिभावक, स्थानीय जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा प्रिन्सिपल प्याकुरेल उनका बुबा डम्मरबल्लभ प्याकुरेल लगायतले स्वीटर हस्तान्तरण गरे ।

प्रकाशित मिति : १९ पुस २०७४, बुधबार  ११ : ३० बजे