१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा साना १० दलका ठूला एजेण्डा


१७ मंसिर २०७४, आइतबार  

0
Shares

1

बिर्तामोड१७, मंसीर /
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले आइतवार एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।
सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेण्डा छन् । साना दलको कुरा कहींकतै सुनुवाई हुँदैन भन्ने गुनासो भइरहेका बेला संवाद समूह झापाको संयोजनमा भएको छलफलमा ती दलका नेताले उत्साहका साथ आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
फरक विचार र आन्दोलनमा रहेका ती पार्टीका एजेण्डामा पनि विविधता भेटियो । संघीयता खारेज, संसदीय व्यवस्था भंगदेखि जनवादी व्यवस्था लागू गर्नेसम्मका उनीहरुका एजेण्डा छन् । दल सानो भए पनि विचार र एजेण्डा ठूला पाइए । भ्रष्टाचारमुक्त, कृषिक्रान्ति, बैदेशिक हस्तक्षेपको अन्त्य, शिक्षा र रोजगार सबैका साझा एजेण्डा छन् । राजनीतिलाई व्यापार र पेशा नभई सेवा गर्ने आधार बनाउनुपर्नेमा साना दलको जोड छ । उनीहरुले शान्ति सुरक्षाको उचित व्यवस्थासहित निर्वाचनलाई निष्पक्ष, मितव्ययी र मर्यादित बनाउने तथा आफूहरुले शान्तिपूर्ण गतिविधि गर्नेलगायतका चार बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
चार कुनाभित्र हलो चुनाव चिन्ह लिएर झापाबाट प्रतिनिधिसभामा प्रत्यक्ष ५ र समानुपातिक ८ जना उम्मेदवारसहित मैदानमा उत्रिएको एकीकृत राप्रपा राष्ट्रवादीका जिल्ला संयोजक लक्ष्मी ओडारी, उम्मेदवार बृजकिशोर ठाकुरले राजसंस्थासहितको हिन्दू राष्ट्रमा जोड दिए ।
तराजु चुनाव चिन्ह लिएर प्रतिनिधिसभामा प्रत्यक्ष ४, समानुपातिक २, प्रदेशमा प्रत्यक्ष ४ र समानुपातिक १ उम्मेदवारसहित मैदानमा उत्रिएको विवेकशील साझा पार्टीका तर्फबाट डा. नवीन चापागाँई, चित्रांगत तिम्सिना, विष्णु आचार्य र सन्तोष घिमिरेले भ्रष्टाचारको अन्त्य र मुलुकको समृद्धिमा जोड दिए ।
हँसिया र तारा चुनाव चिन्हसहित प्रतिनिधिसभामा प्रत्यक्ष २, समानुपातिक ६, प्रदेशमा प्रत्यक्ष २, समानुपातिक ८ उम्मेदवार चुनावी मैदानमा उतारेको नेकपा माले पार्टीका तर्फबाट पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री खगेन्द्र प्रसाईले ५ प्रदेशको व्यवस्थासहित संविधान कार्यान्वयनमा जोड दिए ।
हातको कसिएको मुठी चुनाव चिन्ह लिएर प्रतिनिधिसभामा प्रत्यक्ष ३ र समानुपातिक ४, प्रदेशमा प्रत्यक्ष ४ र समानुपातिक १० जना उम्मेदवार चुनावी मैदानमा उतारेको देशभक्त गणतान्त्रिक मोर्चा नेपालको तर्फबाट होमचन्द्र घिमिरे र हरिप्रसाद दाहालले संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए ।
दावसहितको खुकुरी लिएर झापाको सबै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी र प्रतिनिधिसभामा ५ तथा प्रदेशमा १० जना समानुपातिक उम्मेदवारसहित चुनावमा होमिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकोतर्फबाट मानबहादुर साँवा र नगेन्द्र राईले लिम्बुवान राज्य स्थापना र विभेदको अन्त्यलाई जोड दिए ।
गिलास चुनाव चिन्ह लिएर प्रतिनिधि सभामा प्रत्यक्ष १ र समानुपातिक १ जना उम्मेदवार मैदानमा उतारेको राष्ट्रिय जनमोर्चा पार्टीकातर्फबाट नवराज ढुंगानाले संघीयताको खारेजी गरी एकात्मक राज्य व्यवस्था हुनुपर्नेमा जोड दिए ।
कुखुराको भाले चुनाव चिन्हसहित प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा ५÷५ तथा प्रदेशमा प्रत्यक्ष ९ र समानुपातिक १० उम्मेदवारसहित मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला अध्यक्ष रुद्रबहादुर राईले मंगोललाई मूलवासीको रुपमा स्थापित गरी जातीय विभेदको अन्त्यमा जोड दिए ।
छाता चुनाव चिन्हसहित प्रतिनिधिसभामा प्रत्यक्षका लागि २, समानुपातिकमा १, प्रदेशसभामा प्रत्यक्ष ५ र समानुपातिक १ उम्मेदवारसहित मैदानमा रहेको राष्ट्रिय जनता पार्टीका झापा संयोजक सूर्यनारायण गणेशले सीमान्तकृतलाई अधिकार सम्पन्न बनाउँदै सबै खाले विभेदको अन्त्यमा जोड दिए ।
कमलको फूल चुनाव चिन्हसहित प्रतिनिधिसभामा प्रत्यक्षका लागि २, समानुपातिकमा ५, प्रदेश सभामा प्रत्यक्ष ३ र समानुपातिक ४ उम्मेदवारसहित निर्वाचनमा होमिएको नेपाल जनता पार्टीका इन्द्रप्रसाद ओलीले गणतन्त्रसहितको हिन्दू राष्ट्रमा जोड दिए ।
घर चुनाव चिन्हसहित झापामा प्रतिनिधि सभामा प्रत्यक्ष ५ र समानुपातिक १, प्रदेशमा प्रत्यक्ष ७ र समानुपातिक ८ उम्मेदवारसहित मैदानमा रहेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले ‘हाम्रो विकास, हाम्रो सहभागिता र हाम्रो संरक्षण’ भन्ने कुरामा जोड दिए ।
जन अपेक्षा र तपाईको एजेण्डा÷प्रतिवद्धता विषययमा भएको छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
चार बुँदे प्रतिबद्धता यस्तो छ
१) प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्तर्गत मंसीर २१ गते हुने निर्वाचनमा हाम्रा निर्वाचन कार्यक्रम सम्बन्धी कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेछौं ।
२) निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई निष्पक्ष र मितव्ययी बनाउन प्रतिबद्ध छौं । हाल निर्वाचन आचारसंहिता पूर्ण पालना नभएको र निर्वाचन भड्किलो समेत बन्दै गएको गुनासो बढेको सन्दर्भमा आचारसंहिता पूर्ण पालना गर्न र निर्वाचन मितव्ययी बनाउन सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवारलाई आग्रह गर्दछौं ।
३) मंसीर २१ को निर्वाचनमा सम्पूर्ण मतदाताले स्वतन्त्र, शान्तिपूर्ण, निर्भयतापूर्वक मतदान गर्ने वातावरण तयार गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकार, स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।
४) मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन र सम्पूर्ण मतदातालाई निर्वाचनमा उत्साहजनक सहभागिताका लागि अपिल गर्दछौं ।
तस्वीरः शिशिर चम्लागाईं

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार  १० : ५४ बजे