१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मतदाताको मन जितेको छु, मत पनि जित्नेछुः विश्वप्रकाश


२७ कार्तिक २०७४, सोमबार  

0
Shares

11

गौरीगंज / कांग्रेस र वामगठबन्धनका बौद्धिक छविका उम्मेदवारका कारण झापा क्षेत्र नम्बर १ को छुट्टै चर्चा छ। चर्चमा छ। प्रतिनिधिसभामा वामगठबन्धनका प्रत्यक्षतर्फका उम्मेदवार माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीलाई टक्कर दिँदैछन् नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले। अघिल्लो पटक यही क्षेत्रमा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा यसपाली चुनाव जित्ने दावीका साथ मैदानमा छन्। विश्वप्रकाश शर्मासँग गरेको चुनाव–वार्ताः

चुनावी घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ, कस्तो चल्दैछ?
चुनाव प्रचारको अभियान उत्साहवद्र्धक छ। मतदातामा जागरण देखिएको छ। लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गर्ने मतदाताका लागि चुनाव लोकतन्त्रको एउटा सबैभन्दा बढी महत्वपूर्ण अभ्यास हो। हामी राजनीतिक व्यक्तिलाई पनि उम्मेदवार बन्दै गर्दा आफूले गरेका कामहरु बताउने, अधुरो रहेका कामहरुका लागि अनुमोदित हुने अवसर हो। आफूलाई परिमार्जित गर्ने र मतदाताको म्यान्डेट लिएर काम गर्ने अवसर पनि हो। त्यसैले मतदातामा जागरुकता छ, हामीमा उत्साह छ।

मतदाताहरुले के भनेका छन् तपाईँ घरदैलोमा गएर भोट माग्दै गर्दा?
मतदाताहरुले सामान्यतया देशले गति लिनु प¥यो। देश सम्वृद्धिको बाटोतर्फ लैजानु प¥यो भनेका छन्। स्थानीय स्तरका सन्दर्भमा विकास निर्माणले गति लिनु प¥यो। स्वास्थ्य, शिक्षा र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु प¥यो भनेका छन्।

यो पटक तपाईँलाई किन भोट दिने?
मतदाताले यही कारणले मत दिने भन्ने कुरा त हुन्छ नै। मतदाताले भोट दिने वा नदिने भन्ने कुरा पनि मतदाताकै हुन्छ। विगतमा को आफ्नो गाउँठाउँमा लागेको छ भनेर व्यक्तिगत हिसावले पनि हेर्ने हो भने सायद मतदाताको छनौटमा मेरो नाम आउन सक्छ। अघिल्लो पटकको चुनावमा उपविजेता हुँदा पनि विश्वप्रकाश नहराइकन निरन्तर जनताकै बीचमा छ, त्यही कारणले मलाई मतदाताले छनौट गर्न सक्छन्। राष्ट्रिय राजनीतिमा कांग्रेसका बारेमा कति गुनासा छन, कमिकमजोरीहरु भए भनेर। र, तिनलाई चिर्नका लागि विश्वप्रकाशहरुले निरन्तर बोलेका छन्। राजनीतिक सुधारका लागि बोलेका छन् भनेर पनि मतदाताको छनौट हुन सक्छ। प्रचण्डसँगसँगै गिरिजाबाबुले नेतृत्व गरिरहँदा देशमा शान्ति स्थापना भएको थियो भनेर मतदाताको रोजाइ हुनसक्छ। देशमा संविधान अरुले नेतृत्व गरिरहँदा बनेन, कांग्रेसले नेतृत्व गर्दा संविधान बन्यो त्यसकारण कांग्रेसको उम्मेदवारलाई दिऊँ भन्ने हुनसक्छ।

हिंसा र अस्थिरताका बीचमा पनि कति कामहरु भएका छन् बाटोघाटो, पुलपुलेसा, बिजुली इत्यादी। त्यो कुरालाई हेरेर मतदाताले छनोट गर्न सक्नेछन्। त्यसले गर्दा मलाई लाग्छ झापा क्षेत्र नम्बर १ मा मतदाताको छनौटमा हामी पर्नेछौं।

वाम गठबन्धनले माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ। यस्तो अवस्थामा तपाईलाई चुनाव जित्न गाह्रो छ जस्तो लाग्दैन?
चुनावी मैदानमा जाँदै गर्दा यो गाह्रो या सजिलो भन्ने भन्दा पनि यो स्वभाविक एउटा महत्वपूर्ण अभ्यास हो। यसलाई मैले अघिल्लो पटक पनि बडा सौहार्द ढंगले लिएको थिएँ। कसैलाई आलोचना नगरिकन चुनावमा लडेको थिएँ। परिणाममा उपविजेता हुँदै गर्दा पनि चुनाव जितेका एमालेका साथीलाई फोन गरेर बोलाएर अंगालो मारेर बधाई दिएको थिएँ। यो स्वभाविक प्रक्रिया मानेको हुँदा गाह्रो या अप्ठ्यारो वा सजिलो भन्ने मलाई लागेको छैन। बडो उत्साहवद्र्धक तरिकाले उम्मेदवारी दर्ता अगाडि जसरी हिंड्दै थिएँ, त्यही रुपमा हिंडिरहेको छु। सामान्य ढंगले यसलाई मैले लिएको छु।

तर, यहाँका मतादाताले अमुख कसैलाई उम्मेदवार बनाएको छ त्यसकारण गाह्रो होला भन्ने हुँदै गर्दा मतदाताको मनमा के छ भन्ने कुरा बुझ्न अहिले सकिँदैन। एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदै गर्दा अंकगणितका हिसावले उहाँहरु बढी देखिनु हुन्छ। तर दुई वटा पार्टीको मत जोड्दै गर्दा यति छ, त्यसकारण उहाँहरुले जिति हाल्नुहुन्छ भन्ने हो भने त काठमाडौं बसेरै नेताहरुले कुन क्षेत्रमा कुन गठबन्धनको बढी छ त्यसैलाई घोषणा गरे सकिहाल्थ्यो। त्यसैले राजनीतिमा के हुन्छ भने दुई र दुई जोड्दा कहिले चार हुन्छ। तर, कहिले काहीँ दुई र दुई जोड्दा पाँच हुन्छ। कोहीबेला तीन मात्रै पनि हुनसक्छ। त्यसकारण उहाँहरुको दुईमा दुई जोडेर ठ्याक्कै चार हुन्छ भन्ने मलाई लाग्दैन। धेरै मतदाताले को कांग्रेस, को एमाले, को माओवादी भन्दैनन्। धेरै मतदाताले चाहिँ अघिल्लो पटकको उपविजेता जो निरन्तर मतदाताको बीचमा छ, त्यसकारण उसलाई आर्शिवाद दिऊँ, उसलाई साथ दिऊँ भन्ने खालको भावना पनि मैले पाएको छु। मैले उहाँहरु सबैको माया पाएर, कांग्रेसकोे उम्मेदवार तर, कांग्रेसको मात्रै होइन, यो हुँदै गरेको सिंगो क्षेत्रको विजयीका रुपमा लिने गरी हामी लागिराखेका छौं।

भनेपछि तपाईँ आफूले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ?
म चुनाव जित्ने कुरामा आशावादी विल्कुलै छैन। म चुनाव जित्ने कुरामा सम्पूर्णरुपले विश्वस्त छु।

उसो भए कति मतान्तरले चुनाव जित्नुहुन्छ?
मत यति भनेर भन्न सक्ने अवस्था छैन। दुई वटा दलको मत जोड्यौं भने त हामी जितिहाल्छौं भन्ने उहाँहरुलाई होला। मतदताको कुरा हो। त्यो, एक मतले पनि हुन सक्छ, एक हजार मतले पनि हुनसक्छ, पाँच हजार मतले पनि हुनसक्छ। तर, मतदाताको मन हामीले तुलनात्मक रुपले अलि बढी जितेका छौं भन्ने लाग्छ। त्यसैले मैले अघिल्लो पटक भनेको थिएँ–मन जित्न सकिनँ, त्यसैले मत जित्न सकिनँ भनेर। यो पटक मलाई लाग्छ हामीले मन जितेका छौं, हामी मत पनि लिन्छौं।

आफ्नो क्षेत्रको विकासका लागि के योजना अघि सार्नु भएको छ?
अब क्षेत्रको समग्र सम्वृद्धिको लागि स्थानीय तह जो बनेको छ, त्यो तहको नेतृत्व कांग्रेसकै छ। स्थानीय नेतृत्वसँग समन्वय गरेर, प्रदेश र केन्द्रसँग समन्वय गरेर आफ्नो क्षेत्रको सन्दर्भमा हामीले सुरु गरेको चक्रपथको परियोजना पूरा गर्न तर्फ हामी लाग्ने छौं। बाहुनडाँगीमा झण्डै ४८ करोडको लगानीमा सिद्धि सिचाईं आएको छ। माटो छँदै थियो, सिचाईं आयोजना आइपुग्यो। अब इजरायलमा कृषि पढेर आएका युवाहरु छन्। हामी त्यो ठाउँमा अब कृषिको आधुनिकिकरणका विषयहरु सुरु गर्नेछौं। बाहुनडाँगी र शान्तिनगरमा कृषिको आधुनिकिकरण र पर्यटन क्षेत्र, त्यस्तैगरी दुवागढी, चन्द्रगढीमा केही उद्योग व्यवसायका लागि औद्योगिक क्षेत्र, स्वास्थ्य हब, काकडभिट्टा, धुलाबारी, लगायतका ठाउँहरुलाई व्यवसायीक क्षेत्रको रुपमा विकास गर्ने भन्ने हाम्रो घोषणा पत्रमा छ। यिनै योजनालाई पूरा गर्ने क्रममा स्थानीय तहसँगसँगै प्रदेशसँग समन्वय गरेर केन्द्रबाट काम गर्नेछु।

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार  ११ : १६ बजे