१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालमा अझै लाखौँ नागरिक निरक्षर


२० कार्तिक २०७४, सोमबार  

0
Shares

nirachar

काठमाडौं / सरकारले एक दशकअघि दुई वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा गरेको थियो। तर, निरक्षर उन्मूलन अभियान सुरु गरेको एक दशकसम्म सरकारको घोषणा पूरा हुन सकेको छैन। सरकारले ०६५ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन गरेको थियो। अनौपचारिक शिक्षा केन्द्रका अनुसार अहिलेसम्म जम्मा ३८ जिल्लाले साक्षर जिल्ला घोषणा गरेका छन्। ०६५ मा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा दुई वर्षमा नेपालमा १५ देखि ६० वर्षसम्मको निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन भएको थियो। दुई वर्षमा निरक्षरता उन्मूलन नभएपछि अर्कोपटक तीन वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो। त्यसैगरी पटक–पटक घोषणा गरे पनि अहिलेसम्म लक्ष्यमा पुग्न सकेको छैन। १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर अहिले नेपालमा १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर रहेको तथ्यांक छ। अनौपचारिक शिक्षा केन्द्रले ०६७/६८ मा गरेको घरधुरी सर्वेक्षणका आधारमा नेपालमा अझै पनि सो समूहका तीन लाख निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रका अधिकारीको भनाइ छ। ०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भयो। त्यसबाट पनि पूर्ण सफलता पाउन नसकेपछि ‘साक्षर नेपाल अभियान’ थालियो। साक्षर नेपाल अभियानमा सघन रूपमा कक्षा सञ्चालन भए, सबै पढ्न आएनन्। ६ जिल्ला साक्षर घोषणा हुँदै ०७१ देखि साक्षर जिल्ला घोषणा सुरु भएको हो। अहिलेसम्म ३८ जिल्ला साक्षर घोषणा भएका छन्। अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चूडामणि पौडेलका अनुसार साक्षर जिल्ला घोषणाका लागि थप ६ जिल्ला तयारी अवस्थामा छन्। खोटाङ, सुनसरी, डडेल्धुरा, पर्वत, म्याग्दी र तेह्रथुम साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा छन्। यी जिल्लाका जिल्लास्थित अनौपचारिक शिक्षा समितिले निर्णय गरी केन्द्रमा जानकारी पठाइसकेका छन्। निर्वाचन आचारसंहिताका कारण तयारी अवस्थामा रहे पनि घोषणा गर्न नसकेका हुन्। केन्द्रका निर्देशक पौडेलले चुनाव सकिएलगत्तै थप जिल्ला साक्षर घोषणा हुने बताए। यसकारण पूर्ण साक्षर हुन कठिन – सबै निरक्षर साक्षर नहुँदै साक्षरता अभियान कार्यक्रम बन्द भएको छ। अहिले निरक्षर शिक्षा कार्यक्रम चालू भए पनि शिक्षाका कोटाले समेट्न सकेको छैन। – अभियानबाट छुटेकालाई साक्षर बनाउने छुट्टै कार्यक्रम आएन। निरक्षरता उन्मूलनका लागि बजेटसमेत अभाव हुँदा साक्षर बनाउन कठिन। – भूकम्पले समेत साक्षरता घोषणामा प्रभाव पारेको शिक्षाका अधिकारीको विश्लेषण छ। भूकम्पले भौतिक र धनजनको क्षति पुर्‍याएकाले निरक्षरलाई साक्षर बनाउन कठिन भएको। – एक वर्षदेखि निर्वाचन आचारसंहिताका कारण साक्षरता घोषणा गर्न नसकेको। कस्ता जिल्ला पूर्ण साक्षर? जिल्लाभरको १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएमा पूर्ण साक्षर जिल्ला घोषणा गर्न सक्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गर्दै अनौपचारिक शिक्षा केन्द्रले साक्षर जिल्ला घोषणा गर्न सक्ने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार  ५ : २५ बजे