१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसका भाग्यमानी २५ नेता, जो समानुपातिकमा दोहोरिए


१९ कार्तिक २०७४, आइतबार  

0
Shares

congress
काठमाडौं, कार्तिक १९ / नेपाली कांग्रेसले १९ महिला नेतृसहित २५ जना नेताहरुलाई दोस्रो पटक समानुपातिक सूचीमा दोहोर्‍याएको छ। अघिल्लो संविधान सभाको निर्वाचनमा पनि कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूचीमा स्थान बनाएका २५ जना नेताहरु यो पटक पनि स्थान बनाउन सफल भएका छन्।

दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीमा परेका दर्जनभन्दा बढी महिला नेतृहरुले सांसद बन्ने मौका पाएका थिए। निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा दोहोरिनेमा ६ जना बहालवाला केन्द्रीय सदस्यसहित केही पूर्व केन्द्रीय सदस्यहरु पनि छन्।

केन्द्रीय सदस्यहरु सुजाता कोइराला, चित्रलेखा यादव, मानबहादुर विक, मीनबहादुर विक, सुजाता परियार र लक्ष्मी परियारले यो पटक पनि समानुपातिक सूचीमा पर्न सफल भएका छन्। यस्तै पूर्व केन्द्रीय सदस्य मीना सुब्बा र नेतृ विमला नेपाली पनि दोस्रो पटक समानुपातिक सूचीमा परेका छन्। यी केन्द्रीय सदस्यमध्ये कोइराला, यादव, मानबहादुर, मिन र विमला नेपाली दोस्रो संविधान सभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्न सफल भएका थिए।

यस्तै, अघिल्लो पटक सांसद बन्न नपाएपनि दोस्रो पटक समानुपातिक सूचीमा दोहोरिनेहरुमा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्की पत्नी शिला खड्का, नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, दिपशिखा शर्मा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला, उमा रेग्मी, रुक्मिणीदेवी कोइराला, कल्याणी रिजाल, मैना कार्की, आशा विक, मिनाक्षी झा, नगिना यादव, मनोरमा शेरचन, दिव्यमणि राजभण्डारी, लालकाजी गुरुङ, जीवनप्रेम श्रेष्ठ र नरभान कामी रहेका छन्।

उनीहरुमध्ये दोस्रो संविधान सभामा खुमबहादुरकी पत्नी शिला, दिपशिखा शर्मा, महेन्द्रकुमारी लिम्बु, कल्याणी रिजाल, मिनाक्षी झा, नरभान कामी र आशा विक सांसद बन्न सफल भएका थिए। कांग्रेस केन्द्रीय समितिको बैठकले अपवाद बाहेकलाई समानुपातिक सूचीमा नदोहोर्‍याउने निर्णय गरेपनि केन्द्रीय नेताहरुकै दबाबमा २४ जनालाई समानुपातिक सूचीमा दोस्रो पटक राखिएको हो।

प्रत्यक्ष चुनाव जितेर समानुपातिक सूचीमा परेका ८ नेता

अघिल्लो संविधान सभा निर्वाचनमा प्रत्यक्ष चुनावमार्फत् निर्वाचित केही नेता यो पटक भने समानुपातिकमा बसेका छन्। कोही वाम वामगठबन्धन भएपछि चुनाव हार्ने भएकाले र केही समानुपातिकमा बसेर सहजै सांसद बन्न पाइने भएकाले चुनाव लड्न छोडेर समानुपातिक रोजेका छन्।

अघिल्लो पटक रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव जितेका खाँण राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल भएपछि समानुपातिकमा बसेका छन् भने कोषाध्यक्ष सीतादेवी यादव उमेरका कारण समानुपातिकमा बसेकी छिन्। यादव अघिल्लो पटक सिरहा–३ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।

यस्तै, अघिल्लो पटक सिरहा–१ बाट चुनाव जितेका पद्मनारायण चौधरी र नुवाकोट–३ बाट प्रत्यक्ष चुनावजितेका केन्द्रीय सदस्य बहादुरसिंह लामा पनि यो पटक टिकट नपाउने भएपछि समानुपातिकमा बसेका छन्। अघिल्लो निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट यो पटक दुई वटा कायम भएपछि लामा टिकटबाट बञ्चित भए। र, समानुपातिक सूचीमा राखिए।

नुवाकोट–१ बाट अर्जुननरसिंह केसी र नुवाकोट–२ बाट डा रामशरण महत उम्मेदवार हुने भएपछि लामालाई समानुपातिकमा राखिएको हो। बागलुङ–३ बाट प्रत्यक्ष चुनाव जितेकी ज्ञानकुमारी छन्त्याल र दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित केन्द्रीय सदस्य पार्वता डिसी चौधरी पनि यो पटक समानुपातिकमा परेका बसेका छन्।

अघिल्लो पटक कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका अत्तहर कमाल मुसलमानलाई पनि यो पटक समानुपातिक सूचीमा राखिएको छ। मुसलमानले अघिल्लो पटक कपिलवस्तु–२ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए।

चुनाव जितेपछि कांग्रेसमै फर्किएका मुसलमानलाई यो पटक समानुपातिक सूचीमा राखेर पूर्व राजदूत दीपकुमार उपाध्यायलाई प्रतिनिधि सभा सदस्यको टिकट दिइएको छ। उपाध्याय अघिल्लो निर्वाचनमा कपिलवस्तु–१ बाट पराजित भएका थिए।

चुनाव हारेर समानुपातिक रोज्ने तीन नेता

अघिल्लो संविधान सभा निर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य पुष्पा भुसाललाई अर्घाखाँची–२, किशोरसिंह राठौरलाई बर्दिया–३ र दिलेन्द्रप्रसाद बडुलाई दार्चुलाबाट टिकट दिएको थियो। तर, तीनै जना पराजित भए।

तर, यो पटक उनीहरुले टिकटको दाबी नै नगरी सुरुमै समानुपातिक रोजेका छन्। अघिल्लो पटक नै निर्वाचित हुन नसकेका उनीहरु माओवादी केन्द्र र एमाले वामगठबन्धनमार्फत् चुनावी मैदानमा उत्रिएपछि सांसद बन्न नसकिने निष्कर्षका साथ समानुपातिक रोजेका हुन्।

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार  ९ : ३३ बजे