१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

झापाभित्रको झापा सुनसान


१४ कार्तिक २०७४, मंगलबार  

0
Shares

Jhapa-Bazar1

झापा / झापा भन्नेबित्तिकै प्रदेश १ अन्तर्गतको एक जिल्ला बुझिन्छ । तर, झापाभित्र पनि अर्को एउटा झापा छ, त्यसैको नामबाट जिल्लाको नामकरण भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् कनकाई ३ स्थित सुरुंगा बजारबाट अमरपथ सडक हुँदै करिब २४ किलोमिटर दक्षिणमा पर्छ, यो बजार । हाल झापा गाउँपालिकाको केन्द्र हो यो ।

पहिले झापाको प्रशासनिक काम मोरङ गोश्वाराबाट हुन्थ्यो । पछि तत्कालीन कुमरखोद गाविस (हालको झापा बजार)मा गोश्वारा सारियो । सदरमुकाम चन्द्रगढी सार्नु अघिसम्म यही बजारबाट जिल्लाका सबै प्रशासनिक काम हुन्थे ।

यसरी जुर्‍यो नाम

झापा गाउँपालिकामा आदिवासी, राजवंशी र गनगाई समुदायको बसोबास थियो । पछि बंगलादेशबाट लखेटिएपछि भारत हुँदै मुसलमान समुदाय पनि आइपुगे ।

त्यतिबेला यस क्षेत्रका बासिन्दा पूर्ण रुपमा खेतीमा निर्भर थिए । धान, पाटा र सुर्तीको खेती व्यापक हुन्थ्यो ।

एक बिहान झापा बजारदेखि दक्षिणतिर केही किसान हलो जोत्दै रहेछन् । गर्मी ठाउँ भएकाले तातोभन्दा चिसै खानु ठीक हुने धारणाका कारण त्यसबेलाका किसानले भातमा पानी हालेर खान्थे । त्यस्तो खान्कीलाई स्थानीय भाषामा ‘पन्ता’ भात भनिन्थ्यो ।

हलो जोतेर लखतरान भएका बेला पत्नीले ल्याइदिएको भातमा पानी हालेर खाँदै गर्दा दुई प्रहरी त्यहाँ आइपुगेछन् । उनीहरुले यो ठाउँको नाम के हो भनेर ती कृषकलाई सोधे ।

तर, उनीहरु नेपाली भाषा बुझ्दैनथे । राजवंशी समुदायको छुट्टै भाषा थियो । गनगाई पनि आफ्नै भाषा बोल्थे ।

आफ्नो गाउँदेखि बाहिरको मान्छेले ‘पानी हालेको भात’ खाँदै गरेको देख्दा ती महिलालाई लाज भएछ । र, उनी ‘झापा, झापा..’ भन्दै कराउन थालिन् ।

राजवंशी भाषामा झापा भनेको छोप्नु हो । उनले भात राखिएको भाँडोलाई छोप्न पतिलाई आग्रह गरेकी थिइन् ।

महिलाले झापा भनेर कराएपछि उनीहरुलाई यो ठाउँको नाम झापा हो भन्ने लाग्यो । त्यही बेलादेखि ठाउँको नाम नै झापा रहन गएको विश्वास स्थानीय बासिन्दाको छ ।

सात सालको क्रान्ति अभिसाप !

२००७ सालको क्रान्ति झापा बजारका लागि अभिसाप सावित भयो । प्रजातान्त्रिक सरकार बन्नेबित्तिकै झापाका सरकारी कार्यालयहरु चन्द्रगढी सार्न थालियो ।

यहाँबाट माल, अमिनी, गोश्वारा, हुलाक, आवा, प्रहरीलगायत सरकारी कार्यालय चन्द्रगढी सारिएपछि नै हो, यो ठाउँ पछि परेको पनि ।

पछि ०१७ सालमा झापालाई मोरङबाट छुट्याएर अलग्गै जिल्ला बनाइयो । र, त्यसपछि चन्द्रगढीलाई नै सदरमुकाम बनाइयो ।

नयाँ पुस्ता बेखबर

जिल्लाको पुरानो सदरमुकामबारे पुरानो पुस्ता त जानकार छ । तर, नयाँ पुस्ता यसबारे बेखबर छ ।

‘इतिहासलाई समय-समयमा कोट्याएर सार्वजनिक गर्ने काम नहुँदा नयाँ पुस्तालाई पुरानो सदरमुकामबारे जानकारी छैन,’ स्थानीय शिक्षक तथा रेडक्रसकर्मी जगन राजवंशी भन्छन्, ‘झापा बजारको इतिहासलाई जोगाइराख्न नयाँ पुस्तालाई यसबारे जानकारी दिनु आवश्यक छ ।’

यही बजारको नामबाट जिल्लाको नाम रहे पनि यो ठाउँ सधैँ उपेक्षामा पर्ने गरेको छ । अझै पिछडिएकै अवस्थामा छ यो ।

यहाँ बसोबास गर्ने हरेक समुदायका आ-आफ्नै व्यथा छन् । राजवंशी, मुस्लिम, गनगाई समुदाय शिक्षामा पछाडि छन् । उनीहरुमा चेतनाको कमि छ ।

यी समुदायको राजनीतिक पहुँच पनि नगण्य छ ।

पहिले चहलपहल, अहिले सुनसान

७७ वर्षीय कृष्णप्रसाद गणेश सदरमुकाम रहँदा यस बजारमा व्यापक चहलपहल रहेको सम्झिन्छन् ।

‘झापा बजारमा शनिबार र बुधबार हाट लाग्थ्यो, जुन अद्यापि कायम छ । भारतका किसनगञ्ज, डिगलबैंक, बहादुरगञ्जलगायत बस्तीबाट यहाँ सामान बिक्री गर्न ल्याउने चलन थियो,’ उनी भन्छन्, ‘प्रायः कपडा र सब्जी व्यापारी यता आउँथे ।’

उनका अनुसार मानिस घोडा र बयल गाडामा किनमेल गर्न आउँथे । अहिले भने पुरानो रौनक कहींकतै झल्किँदैन ।

सदरमुकाम सरेपछि यहाँका ठूला व्यापारीहरु पनि बिर्तामोड, काठमाडौंसहित अन्य क्षेत्रमा सरे । व्यापार खुम्चिँदै कारोबार घटेपछि व्यापारीका लागि अन्यत्र सर्नुको विकल्प रहेन ।

अहिलेको झापा बजारका पहिचान बनेका छन्, केही किराना र कपडा पसल तथा साना होटल, पुराना जस्तापाता भएका काठका घर र धेरै पहिले सुर्की चुना लगाएर बनाइएका घर ।

त्यतिबेला रड प्रयोग नगरी बनाइएका घर (आरबीसी) अहिले पनि जस्ताको तस्तै छन् ।

बाँकी रहेका सरकारी कार्यालयहरु पनि माओवादी सशस्त्र द्वन्दका बेला विस्थापित भए । छोटी भन्सार, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक अहिलेसम्म पुनःस्थापना भएका छैनन् ।

द्वन्द्वकालमा भत्किएको इलाका प्रहरीको भवन हालसम्म पुनर्निर्माण भएको छैन । शान्तिप्रक्रियापछि दरबन्दीमा फर्केका प्रहरीलाई हतियार जोगाउनै मुस्किल छ ।

बजार क्षेत्रमा बाटोसँग जोडिएको जग्गा प्रतिकठ्ठा १५ लाख रुपैयाँमा किनबेच हुने गरेको छ ।

गत २८ साउनको बाढीका कारण झापा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुग्यो । बाढीका कारण यहाँका कतिपय स्थान तहसनहस बनेका छन् ।

गाउँपालिका अध्यक्ष जयनारायण साहका अनुसार त्यस समयमा १० जनाको मृत्यु र सयौं विस्थापित भए । बाढीले थलिएको यो क्षेत्रका बासिन्दाको जीवन अझै सामान्य बन्न सकेको छैन ।

अनलाइनखबरबाट

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार  ६ : ५५ बजे