१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

मेरो मधेसी साथी


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

प्रवीण पाठक     /  pp
मेरो पहाड घर नुवकोटको थान्सिङ भन्ने ठाउँ हो रे। तर बर्सौ पहिले मेरो हजुरबुबा नुवकोटबाट तराई झर्नु भएकाले मेरो जन्म पनि तराइमै भयो। अहिले बसाइचाहिँ बाँकेको कोहलपुर भन्ने ठाउँमा छ। म अस्ट्रेलियमा छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ बिसएमा स्नातकोत्तर गर्दैछु। यता आएपछि देशमा ठूलो भूकम्प गयो अनि तराईमा आन्दोलन पनि भयो। भूकम्पले आक्रन्त बनेका बेला देशमा नाकाबन्दीले झन् घाउम नुन छर्कने काम गर्यो। आन्दोलन जे जति कारणले भए पनि चार दर्जानभन्दा बढी नेपाली दाजुभाइको ज्यान गयो।
तराई मधेस आन्दोलन चलिरहेका बेला मेरो मनमा अर्को एउटा डर बढेको थियो। मेरो साथी भोला, जो मेरो बच्चादेखिको साथी हो, उसलाई गुमाउँछु कि भन्ने। भोलाको स्थायी घर जनकपुरमा छ, उसको बुबा पेसाले डाक्टर हुनुहुन्छ अनि आमा पनि स्वस्थ्यकर्मी। भोला र मेरो मित्रताको बारेमा कुरा गर्दा अहिले पन्ध्र वर्ष नघिसकेको छ। उसको बुबा सरकारी डाक्टर भएकाले धेरैजसो दुर्गम डोटी, दिपायलतिर नै हुनुहुन्थ्यो। उसको आमाको पनि कोहलपुरमा पोस्टिङ भएकाले हाम्रो भेट स्कुले जीवनमै भयो। भोला अहिल एमबीबीएस चौथो वर्षमा अध्यन्तरत छ, उसले मलाइ पढाइ सकेपछि लोकेसेवामा नाम निकालेर दुर्गम ठाउँम सेवा गर्ने ठूलो मन भएको सधै भनिरहन्थ्यो। सायद आमाबाबुले देशको निम्ति गरेको सेवाबाट प्राभवित भएको हुनसक्छ। अरुले देशमा राजनीतिक अस्थिरता भएकाले एमबीबीएसपछि पीजी गर्न विदेश जान सल्लाह दिँदा पनि ऊ सधैँ त्यो प्रस्तावलाई नकार्थ्यो।

तराईमा आन्दोलन चल्दा ऊ जनकपुर मेडिकल कलेजको होस्टलमै थियो। त्यहाँ माहोल बिग्रदो थियो, हरेक दिन नराम्रा घटनाका खबरहरु आइरहनथ्यो। यस्ता खबरहरु अनलाइन पोर्टलहरुमा पढ्दा मेरो मन भने सधैँ आतिरहन्थ्यो। हामी साह्रै मिल्ने साथी भए पनि राजनीतिक विषयमा छलफल भने कमै हुन्थ्यो। म पहिलेदेखि नै राजनीतिक विषयमा अलि बढी चासो राख्ने हुँदा समसमायिक राजनीतिक घटनाक्रमबारे अपडेट भैरहेको हुन्थ्यो। एक दिन मेरो अर्को साथी मन्जुलासँग फोनमा देशको परिस्थितिबारे गफ हुँदा थाहा भयो- भोला र उसको आन्दोलनलाई लिएर चर्काचर्की परेछ। अनि बोलचालै बन्द भएछ। मलाई सुरुमा राजनीतिक विषय भएकाले फोन गरेर कुरा गर्न केही अफ्ठ्यारो लाग्यो। तैपनि आफ्नो मित्रता दाउँमा रहेको जस्तो लागेर कुरा गर्ने मन बनाए। सुरुमा सामान्य कुरा भएपछि मैले त्यो विषयमा कुरा गर्दा उसमा धेरै नै क्रोध जम्मा भएको पाए। सरकाले अपनाएको तरिकाले त्यहाँ बस्ने धेरैमा नराम्रो छाप परेको रहेछ। उसले एउटा अनौठो कुरा गर्यो। त्यहाँ कसै कसैले- यदि उसले विदेशबाट विहे गरेर ल्याएको श्रीमतीबाट जन्मेको बच्चाले पनि अंगिकृत नगरिकता पाउने अनि देश्को सर्वोच्च निकाएको पोस्टमा बस्न नपाउने कुराको भ्रम सिर्जना गरेका रहेछन्। अनि त्यसपछि लाग्यो- मेरो साथी जो अहिले एमबीबीएस पढ्दैछ उसलाई संविधानमा लेखिएको अधरभूत विषयमा जानकारी रहेनछ। अरु अशिक्षित जनतामा कस्तो बुझाइ होला आफैँ मूल्याकन गर्न सक्छौ।

आफूसँगको ज्ञान साटेपछि उसको क्रोध कम भएको महसुस गरे। पछि दुबैजना एउटा कुरमा दृढ भयौं- जायज मागहरु सरकारले पूरा गर्नुपर्छ तर राष्ट्रको स्वाधीनता अनि सार्वभौमसत्तामा आँच आउने कुरा कुनै हालतमा स्वीकार्य हुन सक्दैन।

तराई मधेसको कति माग जायज छन् कति छैनन् त्यो अहिले मेरो लेखनको विषय हैन, तर वर्षौंदेखिको मेरो साथी मैले गुमाउँछु कि भन्ने डर छ। मलाई लाग्छ- मजस्तै डर धेरै नेपालीमा छ। सरकारले पनि संविधानमा लेखिएका कुराहरु आम नगरिकले बुझ्नेखालका कार्यक्रम स्थनीय स्तरमा ल्याउन जरुरी छ । सरकार पनि शरीरको रंग अनि जिजुबाजे कुन देशबाट आएका हुन् भन्ने कोट्याएर बस्न भएन। अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि केन्यन पिताबाट जन्मिएका हुन्। उनै अमेरिकी राष्ट्रपतिले दोस्रो सफल कार्यकाल सम्पन्न गर्दैछन्।

त्यस्तै सदिक खान पकिस्तनी पिताका पुत्र भए पनि लन्डनमा मेयर भएर पोस्ट सम्हालेका छन्। हामीहरू भारतको दार्जिलिङमा बस्ने मानिसलाई नेपाली भन्छौं तर आफ्नै सीमामा हरेक दिन विदेशी प्रहरीको दमन सहेर बस्नेलाई नेपाली होइन भन्छौं। यस्तो मानसिकता त्याग्न जरुरी छ। किनकि उनीहरु ‘म नेपाली हुँ’ भनिरहेका छन्।

दुई चार जनाले देश टुक्र्याउने कुरा गरे भन्दैम त्यो समुदायमै लाञ्छना लगाउने काम कतिसम्म जायज हो आफैँ मूल्यांकन गरौं। देशको इतिहास हेर्ने हो भने ढाकाटोपी लगएर नेपाली बोल्नेले पनि विदेशीसँग नदी नाला बेचेको इतिहास छ।

अफ्नो सरकार र कुर्सीको लगि कहिले उत्तर र कहिले दक्षिण गरेको प्रसस्त उदाहरण छन्। त्यस्तै मेरो साथी भोला जो देशको दुर्गम गएर दुःखी गरिबको सेवा गर्न चाहन्छ उसको देशभक्तिको अपमान नगरौं। बरु सक्छौँ भने आफूले बुझेका कुरा साथीभाइसँग बाँडौं। यसले मित्रता अझ बलियो बनाउँछ। कृपया सथीहरु नेपाली भन्ने कुरा पोसाक र लवजमा भन्दा पनि मनमा खोजौँ, अनि बल्ल समुन्नत नेपाल सम्भव छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १ : १७ बजे