८ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

अनुषा र सुमित्रा ताजपुरियाको पौरखी हातहरु


१७ जेष्ठ २०७३, सोमबार  

0
Shares

धरमपुर/ अझैपनि हाम्रो समाजमा पुरुषले मात्र गर्नु हुने तर महिलाले चाही गर्न नहुने कतिपय व्यवसायीक जिम्मेवारीहरु पछिल्लो समय पुरुष सरह महिलाहरुले पनि गरेर देखाईदिएका छन् । झापा धरमपुर–५ मंगलबारे बजारकी ३८ बर्षिया अनुषा ताजपुरियाले अनुषा साइकल बिक्रि तथा मर्मत पसल खोलेर पुरुष सरह आफ्नो सीप गाउँ–समाजमा देखाइदिएकी  छन् ।

Anusha

अनुषा ताजपुरिया

धरमपुर–५ मंगलबारे बजारमा अनुषा साइकल बिक्रि तथा मर्मत पसलकी प्रोपाइटर अनुषाको आफ्नै कथा–व्यथा छ । सामान्य खेति किसानी र ज्यालामजदुरीवाट अघि बढ्दै गरेका अनुषाको २०५५ सालमा धरमपुर–६ का रामलाल ताजपुरियासंग जातिय परम्परा अनुसार मागि बिवाह भयो ।

धरमपुर–४ की अनुषा धरमपुर–६ का रामलालसंग बिवाह भएपछि दुई छोराको आमा बनेका दुई दम्पतीको पारिवारीक खुशीहरु धेरै समय टिक्न सकेन । अनुषाको श्रीमान रामलालको २०६४ सालमा असमायिक दुख्खद निधन भयो । श्रीमानको निधनपछि दुई सन्तान र अन्य परिवारको जिम्मेवारी अनुषाको काधँमा आइलाग्यो । त्यसो त सो साइकल पसल रामलालले संचालन गरेका थिए ।

अनुषा भन्छिन–‘हाम्रो समाजमा पुरुषले मात्र गर्नु हुने तर महिलाले चाही गर्न नहुने भन्ने मानसिकता नै गलत हो । उनले सुरुवातको समयमा धेरै पिडा पाएको बताईन् । ‘पसलमा साइकल लिएर आउँने तर बनाउँने मान्छे मलाई देख्दा ग्राहकहरुले आफ्नो साइकलहरु फर्काएर लैजाने गथ्र्यो, अनुषाले भनिन् ।’

एकातिर श्रीमानको मृत्यु पीडा अर्काेतिर ग्राहकले विश्वास नै नगर्ने समस्याले उनलाई ठूलो संकट परेको थियो । अर्को कुनै व्यवसाय गरौं भन्दा पैशा थिएन । श्रीमानको मृत्युको पीडा क्रमशः कमहुँदै गएसँगै ग्राहकले पनि उनको काममा विश्वास गर्न थाले । अहिले अनुषाले साइकल मर्मतबाट साइकल बिक्रि गर्न थालेका छन् । अहिले दैनिक एक हजार रुपैयाँको हाराहारीमा आम्दानी गर्छिन् । ‘साइकलका पार्टपूर्जा तथा नयाँ साइकल बिक्री हुँदाको आम्दानी छुट्टै हुन्छ’, अनुषाले भनिन् ।

प्राविधिक क्षेत्रमा महिलाहरुलाई अझैपनि कमजोर ठान्ने गरेको कारण महिलाहरुलाई समाजद्धारा पछि पारेको उनको बुझाई छ । उनले भनिन–‘अझै पनि टाढा–टाढावाट साइकल चलाएर आएकाहरुले मर्मत गर्न पसलमा आउँदा हत्तपत्त पत्याउँदैन । ‘साइकल लिएर मर्मतका लागि आउने तर महिलाले काम गरिरहेको देखेर पनि विश्वासै नगरी फर्किन्थ’े–अनुषाले भनिन–धेरै समस्या छ ।

यही पेशाबाट उनले जेठो छोरा देवेन्द्रलाई कक्षा १२ सम्म पढाइन् भने कान्छो छोरा घनेन्द्रले एसएलसी परीक्षा दिएका छन् । कक्षा १२ को परीक्षाको व्यस्ततामा भएपनि देवेन्द्र आमालाई समय समयमा साइकल मर्मत गर्न सघाउँदै आएका छन् । देवेन्द्रले भने–‘फुर्सदको समयमा पसलमा गएर आमालाई काममा सर–सहयोग गरिरहेको छु ।’ उनले आफ्नो खेतवारी र कमाई गर्ने मुख्य पेशा भनेको नै यही पसल भएको बताए ।

अनुषाले भनिन्–‘घरमा श्रीमती हुँदाहँुदै मलाई कान्छी बनाएर भित्र्याउनु भयो, विवाह गरेको ९ वर्ष नपुग्दै उहाँको निधन भयो ।’ ‘तर सौता भए पनि दिदीको माया र सद्भावले मैले धेरै अप्ठ्यारालाई पार लगाउन सकेँ ।’ अनुषाले प्रसङ्ग निकालेपछि उनका सौता सुमित्रा ताजपुरियासंग कुराकानी भयो । सुमित्रा मंगलबारे बजारमा नै फ्रेस हाउस संचालन गरेर बस्ने गरेको बताईन् । उनि आफ्नै बलवुता र मिहेनतवाट गाउँघरहरुवाट ज्युँदो कुखुरा लिएर मासु बिक्रि पसल खुलेको बताईन ।

Sumitra

सुमित्रा ताजपुरिया

यी दुई पौरखी महिलाहरु नाता–सम्मन्धमा सौता भएपनि दिदी वहिनीको सम्बन्धमा स्थापित भएका छन् । यी दुईजना सौता हुन् तर व्यवहारिकरुपमा साथीसङ्गीजस्तै छन् । उनीहरु दिउँसो आ–आफ्नै काममा व्यस्त हुन्छन् । तर बजार जाँदा होस् या अन्य कुनै निम्तो भोज भत्तेरमा जानुपर्याे भने सँगसँगै जान्छन् । ‘हामी किन झगाडा गर्ने, श्रीमानले ल्याइहाले । बैंशमा त झगडा गरिएन भने अब बुढेसकालमा के को झगडा गर्नु’–सुमित्रा सुनाउँछिन् ।

आफू घरमा हुँदाहुँदै श्रीमानले सौता ल्याउलान् भन्ने सुमित्रालाई रत्तिभर विश्वास थिएन रे–सुमित्राले मनको भित्री कुरा खोलिन–‘अचानक सौता घरमा आउँदा छाँगाबाट खसेजस्तै भयो । हुने कुरा भएपछि, रोएर र झगडा गरेर हुनेवाला थिएन, चुप लागेर बसे ।‘ ‘आफूले राम्रै व्यवहार गरेर होला, अनुषाबाट पनि मलाई त्यस्तो कुनै नराम्रो व्यवहार भएको छैन ।’

प्रकाशित मिति : १७ जेष्ठ २०७३, सोमबार  १० : २९ बजे