१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सशस्त्र द्वन्द्वका ६४ वटा उजुरी


८ जेष्ठ २०७३, शनिबार  

0
Shares

 

 

santi samitiझापा  /   स्थानीय शान्ति समिति झापामा ६४ वटा उजुरी परेको छ । शान्ति समितिको कार्यालयमा परेको यो उजुरीको संख्या शुक्रबारसम्मको हो । जसमा राज्यपक्षबाट तत्कालिन विद्रोही माओवादीलाई पीडित बनाएको २२ वटा उजुरी र माओवादीले राज्य पक्षलाई पीडित बनाएको ४२ वटा उजुरी परेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा सम्पति क्षतिमा १३ वटा, घाइते, असक्त्त र यातना ८ वटा, मृत्यु ३३ वटा, विस्तावित ५ वटा, कारागार यातना १ वटा, गोप्य १६ वटा उजुरी परेको स्थानिय शान्ति समिति झापाका अधिकृत प्रविण कुमार घोषले  बताए ।
सशस्त्र द्वन्द्वको क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले गत वैशाख दुई गतेबाट द्वन्द्वकालमा राज्य र तत्कालिन विद्रोही माओवादीबाट पीडित भएकाहरुको उजुरी स्थानिय शान्ति समितिबाट लिने व्यवस्था गरेको थियो । यो उजुरी लिने समय असार दुई गते सकिदै छ । झापामा समितिबाट माओवादीले मात्र १ सय वटा उजुरी फारम लगे पनि हालसम्म बुझाएको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको १०१ वटा फारम र वेपता आयोगको ११ वटा फारम वितरण भएको समितिका अधिकृत घोषले  जानकारी दिए ।

सर्वोच्च अदालतले गएको ०७१ साल फागुन १४ गते द्वन्द्वका मुद्दा अदालतमा विचाराधिन भएको अबस्थामा यस्ता मुद्दा आयोगले नहेर्ने फैसाला सुनाएको थियो ।
एमाले र एकीकृत नेकपा माओवादीबीच हालै भएको ९ बुँदे सहमतिले घटनाका दोषीलाई कारबाही नहुने हो कि भन्ने आशंकाबीच आयोगले भने सहमतिले आफ्नो काम प्रभावित नहुने स्पस्ट पारेको छ ।
२०६३ साल मंसिर ५ गते शान्ति सम्झौतामा हस्ताक्षर भएपछि औपचारिकरुपमा माओवादी सशस्त्र द्वन्द्व टुंगिएको थियो । शान्ति सम्झौतामै द्वन्द्वकाक्रममा भएका घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन उल्लेख थियो । तर, शान्ति सम्झौताको आठ वर्षपछि गठन भएको आयोगले बल्ल काम थालेको छ । २०७१ साल माघ २७ गते स्थापना भएको आयोगले त्यसको १५ महिनापछि उजुरी लिन थालेको हो ।
शान्ति मन्त्रालयको  तथ्यांक अनुसार झापामा सशस्त्र द्वन्द्वमा पीडित बनेका कतिपय व्यत्तिले राहत स्वरुप क्षतिपुर्ति पाइसकेका छन् । जसमा  व्यत्तिगत क्षति ३७ जना, जनआन्दोलन  घाइते २२० जना, मृतक २४८ जना, अपाङ्ग ३३ जना, घाइते १६ जना, अपहरण ५ जना, विधवा ३० जना, वेपत्ता १९ जना, विस्तावित ४६ जना छन् ।
उता मोरङ जिल्लामा भने ५७ वटा उजुरी परेको छ ।  स्थानीय शान्ति समितिको कार्यालयमा यो अवधिमा ५७ वटा मात्र उजुरी परेको कार्यालय सचिव टिका घिमिरेले जानकारी दिए ।
स्थानीय शान्ति समितिको कार्यालयका अनुसार सशस्त्र द्वन्द्वको क्रममा मोरङ जिल्लामा २ सय ४७ जना मृत्यु, २१ वेपत्ता र २० जना अंगभंग भएको तथ्यांक छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा जम्मा ७ हजार ७ सय ८९ उजुरी परेको छ । यो तथ्यांक शुक्रबार सम्मको हो । आयोगका सदस्य लिला उदासी खनालका अनुसार आयोगमा एकै दिन पाँच सयको संख्याका उजुरी परेको पनि छ । उनका अनुसार बुधबार मात्र ३ सय ९३ वटा उजुरी आयोगमा परेको जानकारी दिए ।
पहिलो दिन वैशाख २ गते आयोगमा १ सय २५ वटा उजुरी दर्ता भएका थिए । यो क्रम बढेर अहिले ८ हजारको हाराहारीमा पुगेको अवस्था छ ।
आयोग सदस्य खनालका अनुसार हालसम्म लगभग साढे १४ हजार र्फम वितरण भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७३, शनिबार  १२ : ०५ बजे