१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोरङको बाहुनीमा पेट्रोल अन्वेषण सुरु


५ जेष्ठ २०७३, बुधबार  

0
Shares

विराटनगर /  लामो समयको प्रतिक्षापछि मोरङको बाहुनीस्थित पेट्रोल खानीको अन्वेषण कार्य शुरु गरिएको छ । नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले खानीको प्रारम्भिक अन्वेषण थालेको हो ।

सात टोलीमा चिनियाँ र दुई नेपाली प्राविधिक छन् । सदरमुकाम विराटनगरबाट करिव ३७ किलोमिटर पूर्वउत्तरमा पर्ने बाहुनीको पेट्रोल खानीको अन्वेषण २५ वर्षदेखि रोकिएको थियो । नेपाल र चीनबीच भएको सम्झौता अनुसार खानी अन्वेषण गर्न झिन दाकिवुईको नेतृत्वमा चिनियाँ प्राविधिक टोली आएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा पेट्रोल खानीको अन्वेषण हुने खानी तथा भूगर्भ विभाग पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले जानकारी दिए । रजौरेका अनुसार प्राविधिकको टोली एक सातासम्म बाहुनीमा बसी खानीको अन्वेषण गर्नेछ । प्रारम्भिक अनुसन्धान सकेपछि खानी पाइएको खण्डमा थप दोश्रो चरणमा उत्खनन् गर्ने काम अघि बढाइने छ ।

सप्तकोशी नदीसम्म अध्ययन

प्राविधिक टोलीले खानी क्षेत्र लगायत सुनसरीको चतरास्थित सप्तकोशी नदीसम्मको चट्टान, माटोलगायत बस्तुको अध्ययन गर्ने रजौरेले जानकारी दिए ।

२०४३ सालमा विदेशी कम्पनीको सहयोगमा पहिलो चरणमा खानीको अन्वेषण गरेको थियो । त्यतिबेला बाहुनीमा पेट्रोलियम पदार्थको खानी नभएको निष्कर्षमा भूगर्भ विभाग पुगेको थियो । तर पनि विभागले तत्कालीन समयमा तीन विघा तीन कठ्ठा जग्गा स्थानीयबाट अधिग्रहण गरेको थियो । हाल दुई जना हेरालु राखेर सो क्षेत्र घेराबेरा गरी सुुरक्षित गरिएको छ ।

घेराबेरा गरिएको खानी क्षेत्र

भारतले ०४५ सालमा नाकाबन्दी लगाएपछि त्यतिबेलाको सरकारले पेट्रोलियम पदार्थको अन्वेषणमा विषेश ध्यान दिएको थियो । त्यसैको परिणामस्वरुप सेल नेपाल नामक कम्पनीले मोरङ जिल्लाका विभिन्न क्षेत्रमा अन्वेषण कार्य सुरु गर्‍यो ।

मोरङको बाहुनी गाविसस्थित राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिराइसम्म ड्रिल गर्‍यो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएपछि कम्पनी अन्वेषणबाट पछि हट्यो । अहिले पनि राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल यथावत छ ।

तत्कालीन समयमा बाहुनीमा टेण्डर मार्फत चिनियाँ, जापानीज र बि्रटिस कम्पनीले विभिन्न चरणमा अन्वेषणका काम गरेका थिए । ‘सम्भावना भएको क्षेत्रमा डि्रल गरिएको थियो, तर जति मात्रामा ड्रिल गरिनु पर्ने थियो, त्यति हुन सकेन । त्यसैले अहिले पनि खानीको सम्भाव्यता उत्तिकै छ,’ भूगर्भ विभाग पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाका प्रमुख रजौरेले अनलाइनखबरसँग भने ।

०४६ सालबाट देशमा विकसित नयाँ राजनीतिक परिस्थितिपछि पेट्रोलियम पदार्थको खोज र उत्खननमा राज्यले खासै काम गर्न सकेन । त्यसपछि बाहुनीको पेट्रोलियम खानीको थप अनुसन्धान गर्ने काम रोकिँदै आएको थियो ।

प्रारम्भिक अनुसन्धान सकारात्मक

प्राविधिक टोलीले यस क्षेत्रको चट्टानको प्रारम्भिक अनुसन्धान गर्दा खानीको सम्भावना देखिएको बताएको छ । तर कुन स्थानमा हो भन्ने पत्ता लगाउन अझै केही समय लाग्ने टोलीको भनाई छ ।

‘प्राविधिकको प्रारम्भिक अनुसन्धानबाट हामी हौसिएका छौं,’ रजौरेले भने, ‘अब पेट्रोलियमको सम्भावनालाई प्रष्ट्याउन सक्ने गरी उल्लेख्य काम गर्ने छौं ।’

अन्वेषणमा कुनै कसर छाड्दैनौंः उद्योग मन्त्री

मंगलबार अपरान्ह उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित प्राविधिक टोली बाहुनी आएको छ । चीन सरकारसँग भएको सहमतिअनुसार प्राविधिक टोलीले पेट्रोल खानी अन्वेषणको काम सुरु गर्ने मन्त्री पाण्डेले बताए । ‘सम्झौताअनुसार तीन वर्षभित्र नेपालका १० स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गरिनेछ,’ पाण्डेले भने ।

खानी क्षेत्रमा पुगेका मन्त्री सोमप्रसाद पाण्डे

देशका सम्भावित स्थानको अध्ययनपछि व्यावसायिक रुपमा उत्पादन गर्न सकिने स्थानबाट पेट्रोलियम पदार्थ र ग्यास उत्पादन थाल्ने सरकारको तयारी छ ।

२५ वर्ष पहिले सेल भन्ने कम्पनीले अन्वेषण गरेकै स्थानमा चिनियाँ विज्ञहरूको टोलीले अन्वेषण गर्ने पाण्डेले बताए । उनले भने, ‘पहिलो चरणमा खानीको अन्वेषण गर्ने काम हुन्छ र त्यसको नतिजाअनुसार सरकार अगाडि बढ्ने छ ।’

सम्भाव्यता अध्ययन शुरु गर्दा कहाँ कति पेट्रोलियम पदार्थ छ भन्ने पूर्ण जानकारी आएपछि सरकारले सोहीअनुसार कार्ययोजना बनाएर अघि बढ्ने मन्त्री पाण्डेको भनाई छ ।

निर्धारित समयभन्दा करिव तीन घण्टा पछि मात्र बाहुनीको खानी भएको स्थानमा पुगेका मन्त्री पाण्डेले खानी क्षेत्रमा करिव आधा घण्टा विताएका थिए । स्थानीयलाई मन्त्री पाण्डे बिहान ११ बजे आउने भनेर बोलाइएको भएपनि उनी अपरान्ह साढे चार बजे खानी क्षेत्र पुगे । मन्त्रीलाई स्वागत गर्न स्थानीयले करिव ६ घण्टा कुर्नु परेको थियो । मन्त्रीलाई कुरेर बसेका स्थानीय

तत्काल उत्खनन् गर्न स्थानीयको माग

स्थानीयको जग्गा अधिग्रहण गरिएको खानी क्षेेत्र अहिले जंगलमा परिणत भइसकेको छ । लामो समयदेखि खानीको सम्पूर्ण काम रोकिँदा खानी क्षेत्रले जंगलको रुप लिएको हो ।

उद्योग मन्त्री पाण्डेसहितको प्राविधिकको टोली खानी क्षेत्रमा पहिलोपल्ट पुग्दा स्थानीयले तत्काल खानीको अन्वेषण गर्ने र सो क्षेत्रमा भएको पेट्रोलियमको उत्खनन गर्ने काम तीव्र रुपमा हुनुपर्ने बताए ।

स्थानीय इन्द्र गौतमले भने, ‘मन्त्रीज्यू आउने र भम्रण गर्ने भन्दा पनि यस क्षेत्रमा रहेको खानीको उत्खननमा अब जोड दिनु पर्‍यो । उहाँको यो भम्रण औपचारिकता मात्र नहोस् ।’

विगतका दिनमा पनि खानी उत्खननका लागि सरकारलाई दवाव दिँदै आएको भन्दै स्थानीय रविन थापाले विगतका दिनमा जे जति कारणले रोकिएको भए पनि अब सरकारले विस्तृत रुपमा अध्ययन गर्नु पर्ने बताए ।

तत्कालिन समयमा खानीको अन्वेषण गर्ने काम भारतको दबाबका कारण रोकिएको स्थानीयवासी विश्वास गर्छन् । त्यतिबेला लामो समय लगाएर जमिन मुनी ड्रिल गरेर पाइपसमेत जडान गरिएको थियो । अहिले पनि पहिले अन्वेषण गरेको कम्पनीले पाइप लाइनलाई सुरक्षित रुपमा बन्द गरेको छ । तत्कालिन समयमा ड्रिलिङ गरेका बेला निस्किएको पानी र माटोमा तेलको गन्ध आउने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७३, बुधबार  ११ : ५७ बजे