४ असार २०८१, सोमबार | Mon Jun 17 2024

बढ्दै छ क्षयरोग


१४ चैत्र २०७२, आइतबार  

0
Shares

चैत्र १३ /  नेपालमा हाल क्षयरोग (टीबी) को बिग्रिएको र जटिल स्वरूप अर्थात् सामान्य औषधिले नछुने टीबी समस्याका रूपमा देखिन थालेको छ । यस्ता क्षयरोगीलाई निको पार्न १२ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने औषधि गर्नुपर्ने हुन्छ । यति गरे पनि बाँच्ने सम्भावना ५० देखि ७० प्रतिशत मात्र हुन्छ । त्यसमाथि कडा औषधिले गर्दा हुने अन्य नकारात्मक प्रभाव त छँदै छ ।

चिकित्सकीय भाषामा यस्तो क्षयरोगलाई बहुऔषधि प्रतिरोधी क्षयरोग अर्थात् मल्टिड्रग रेसिस्टेन्ट (एमडीआर) टीबी भनिन्छ । अझ अब त एमडीआर टीबीभन्दा पनि नयाँ एक्सटेन्सिभ्ली ड्रग रेसिस्टेन्ट (एक्सडीआर) टीबीसमेत हाम्रो मुलुकमा पाइन थालेको छ ।
एमडीआर टीबी क्षयरोगको धेरै खतरनाक रूप हो । यसअन्तर्गत केही औषधिले क्षयरोगको कीटाणुलाई नष्ट गर्ने क्षमता गुमाउँछन् । यो अवस्था क्षयरोगको राम्ररी उपचार नहुँदा आउन सक्छ । यो संक्रमण अन्य व्यक्तिमा सामान्य क्षयरोगजस्तै फैलिन्छ । एक्सडीआर टीबी एमडीआर टीबीको अझ कडा रूप हो ।

‘पछिल्लो एक दशकभन्दा बढी समयमा एमडीआरबाट उपचार गराएकाहरूको संख्या २ हजार ७ सय ९६ पुगेको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछाने भन्छन्, ‘हाल हाम्रो मुलुकमा ३ सय ७९ जना एमडीआर र ७१ जना एक्सडीआर टीबीका बिरामीले नि:शुल्क उपचार सेवा लिइरहेका छन् ।’

यसको उपचार अत्यन्त महँगो र कठिन छ । डा. लामिछानेका अनुसार, एकजना एमडीआर टीबीका बिरामीले उपचारअन्तर्गत २० महिनामा करिब १२ लाख रुपैयाँसम्मको औषधि खानुपर्छ । यस्तै, एक्सडीआर टीबीको बिरामीलाई त दुई वर्षसम्मको अवधिमा २० लाख रुपैयाँसम्मको औषधि दिनुपर्ने हुन्छ ।

सन् २०११ मा गरिएको सर्वेक्षण अनुसार, कुल क्षयरोगीको २.२ प्रतिशत कहिले पनि क्षयरोगको औषधि नखाएका व्यक्तिमा सुरु अवस्थाको औषधि प्रतिरोध (प्राइमरी डीआर) देखिएको डा. लामिछाने बताउँछन् । उनीहरूलाई औषधि प्रतिरोधी क्षयरोगीबाट रोग सरेको हो । यस्तै, १५.४ प्रतिशतमा कडा खालको (सेकेन्डरी डीआर) टीबी पाइएको थियो ।

‘हाम्रो मुलुकमा सामान्य रूपले नियमित औषधि सेवन नगर्ने, बीचैमा औषधि छोड्ने क्षयरोगीलाई औषधि प्रतिरोध क्षमता विकास भएर यस्तो भएको हो,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. करवीरनाथ योगी भन्छन्, ‘यो कडा क्षयरोगबाट जोगाउने एउटै मन्त्र छ, सामान्य क्षयरोगीहरूलाई नटुटाई नियमित रूपमा औषधि खुवाउनु र एमडीआर भएकाहरूले पनि नियमित उपचार प्रक्रियामा जानु ।’

यस्तै, डाक्टर वा स्वास्थ्यकर्मीको गलत उपचार, बिरामीले मनपरी औषधि खाने गरेको अवस्था र झोले डाक्टरद्वारा गरिएको उपचार प्रक्रियाले समेत बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या बढो छ ।

टीबी रोगीहरू दुईतीन महिना औषधि खाँदा लक्षणबाट मुक्त भएपछि स्वास्थ्य संस्थामा उपचारको लागि आउन छोड्ने गरेको समस्या औंल्याउँदै डा. योगी भन्छन्, ‘यो प्रक्रियाले समेत औषधि प्रतिरोधीको संख्या बढाइरहेको छ ।’

एमडीआर टीबीका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने अरू स्वस्थ व्यक्तिहरूलाई पनि औषधि प्रतिरोधी क्षयरोग लाग्ने सम्भावना धेरै बढी हुन्छ । डा. लामिछानेका अनुसार एमडीआर टीबी भएकाहरूले दुई महिनासम्म नियमित औषधि सेवन गरेपछि सामान्यत: अन्य व्यक्तिमा यो रोग श्वासप्रश्वासका माध्यमले सार्दैनन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलन अनुसार, विश्वव्यापी रूपमा सन् २०१४ मा ४ लाख ८० हजार व्यक्तिमा एमडीआर टीबी विकसित भएको हो ।
यीमध्ये आधाभन्दा बढी केस हाम्रा छिमेकी राष्ट्र भारत र चीन एवं रूसमा देखिएको हो । आकलन गरिए अनुसार, ९.७ प्रतिशत एमडीआर टीबीका केसमा एक्सडीआर टीबी देखियो ।

विश्वमै एमडीआर टीबी
अधिकतम भएको दुइटा ठूला राष्ट्रको बीच रहेको नेपाललाई यो रोगको थप जोखिमसमेत छ । हाम्रो मुलुकका अधिकांश व्यक्ति भारत आवतजावत गर्छन् ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार, सन् १९९३ देखि २०११ सम्म अमेरिकामा ६३ जनामा एक्सडीआर टीबी पाइएको थियो ।

एमडीआरको उपचारमा केही जटिलतासमेत छ । यो उपचार लामो समयसम्म चल्नुको साथै नयाँ औषधिको रासायनिक प्रभावको कारण धेरैजसो बिरामीलाई केही शारीरिक समस्यासमेत उत्पन्न हुने आंैल्याउँदै डा. योगी भन्छन्, ‘अझ कुपोषणग्रस्त व्यक्तिले औषधिको उल्टोप्रभावसमेत झेल्नुपर्छ ।’

हाम्रो मुलुकमा तमाखु सेवनले क्षयरोग हुने जोखिमसँगै यो रोगबाट हुने मृत्युको जोखिम बढाइरहेको छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा हुने २० प्रतिशतभन्दा बढी क्षयरोगको सम्बन्ध धूमपानसँग छ ।

क्षयरोग कसरी फैलिन्छ ?

सामान्य क्षयरोग र औषधि प्रतिरोधी क्षयरोग एकै प्रकारले श्वासप्रश्वासको माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । फोक्सोको क्षयरोग भएकाहरूले खोकी गर्दा, हाच्छिउँ गर्दा, गाउँदा, बोल्दा क्षयरोगको ‘माइक्रोब्याक्टेरियम ट्युवरकुलोसिस’ ब्याक्टेरिया हावामा फैलिन्छ । यो ब्याक्टेरिया हावामा घन्टौं बगिरहन्छ । कुनै व्यक्ति क्षयरोगको ब्याक्टेरिया भएको हावाले सास फेर्छ भने ऊ क्षयरोगबाट संक्रमित हुन सक्छ ।

एमडीआरको जोखिम कसलाई ?

औषधि प्रतिरोधी क्षयरोग भएकाहरूसँग समय बिताउनेहरूमा यो संक्रमण देखिन सक्ने जोखिम हुन्छ । सीडीसीका अनुसार क्षयरोगको औषधि नियमित नलिनेहरूलाई एमडीआर टीबीको जोखिम हुन्छ । चिकित्साकर्मीद्वारा भनिएअनुसार सबै क्षयरोगको औषधि सेवन नगर्नेहरूलाई समेत एमडीआरको जोखिम हुन्छ । विगतमा क्षयरोगको औषधि सेवन गरिसकेकाहरूमा पुन: क्षयरोग देखिए एमडीआर हुन सक्छ । स्वास्थ्य कार्यकर्ताले गलत उपचार, औषधिको गलत मात्रा र औषधि सेवन गर्ने गलत समय सीमा प्रस्तावित गर्दासमेत एमडीआर हुन सक्छ । औषधि प्रतिरोधी क्षयरोग सामान्य भएका ठाउँबाट आउनेहरू वा औषधि प्रतिरोधी क्षयरोग भएकाहरूसँग समय बिताएकाहरूमा पनि यो समस्या देखिन सक्छ ।

हाम्रोजस्तो मुलुकमा सामान्य क्षयरोग उपचारमा कम गुणस्तरको औषधि सेवन गरेर पनि एमडीआर हुने जोखिम हुन्छ । यस्तै क्षयरोगको सबै औषधि नखानेहरूमा समेत यो समस्या देखिन सक्छ ।

निदान
फोक्सोको क्षयरोगको पहिचान गर्न खकार परीक्षण गराउनुपर्छ । दुई साताभन्दा बढी समयसम्म खोकी लागेको जोसुकैले परीक्षण गराउनुपर्छ । यस्तोमा खकारको दुइटा नमुना परीक्षण गराउनुपर्छ । यो परीक्षणबाट रोगको किटान नभए जिन एक्सपर्ट प्रविधिले परीक्षण गराउनुपर्छ । जिन एक्स्पर्ट प्रविधि भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रसँगै मुलुकको २२ स्थानमा जडान गरिएका छन् । खकारको कल्चर परीक्षण पनि गराउन सकिन्छ ।

सूक्ष्म दर्शक यन्त्रबाट खकार परीक्षण गरी यसको नतिजा पाउन दुई दिनसम्म र खकार कल्चर गर्न कम्तीमा आठ हप्तासम्म लाग्ने गर्छ । आधुनिक परीक्षण प्रणाली जिन एक्स्पर्ट उपकरणबाट दुई घण्टामै नतिजा आउँछ । जिन एक्स्पर्टले टीबीको महत्त्वपूर्ण औषधि रिफाम्पिसिन प्रतिरोधसम्बन्धी एकैपटक नतिजा दिन्छ ।

क्षयरोग निदान एक्स(रेको माध्यमबाट समेत हुन्छ । तर यो स्पुटम माइक्रोस्कोपजस्तो भरपर्दो हँुदैन । ‘प्रारम्भिक अवस्थाको क्षयरोगको दाग, क्यान्सर र पहिला क्षयरोग भएको दाग आदि सबै एउटैजस्तो देखिन्छ,’ योगी भन्छन् ।
फोक्सोको क्षयरोगका लक्षण

  • दुई साता वा त्योभन्दा बढी समयदेखि खोकी लाग्नु
  • छाती दुख्नु
  • श्वासप्रश्वासमा गाह्रो हुनु
  • मुख्यत: राति ज्वरो आउनु
  • तौल घट्नु
  • खानामा अरुचि हुनु
  • खकारमा रगत देखिनु

http://bit.ly/1UiQwxW

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ४ : ०५ बजे