१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तराई–मधेश त नेपाली कांग्रेसको सबैभन्दा मजबुत स्थान हो


१४ चैत्र २०७२, आइतबार  

0
Shares

regmi

कुमार रेग्मी (संविधानविद् तथा अभिवक्ता)

० नयाँ नेतृत्व आएसँगै अब कांग्रेस कसरी अगाडि बढ्छ ?
— कांग्रेस नेपालको सबैभन्दा ठूलो र जिम्मेवार पार्टी हो । नेपालमा प्रजातन्त्र स्थापना गर्न यो पार्टीले खेलेको भूमिका, पटक–पटक गरेको आन्दोलन र क्रान्तिको बारेमा सबै नेपालीलाई अवगत नै छ । शेरबहादुर देउवा एउटा लामो अनुभव संगालेको व्यक्ति र एउटा प्रजातान्त्रिक पार्टीको अध्यक्ष भइसक्नुभएको व्यक्ति अहिले लामो समयपछि नेपाली कांग्रेसको सभापति हुनुभएको छ । उहाँले सभापतिमा निर्वाचित भइसकेपछि भारतसँगको सम्बन्ध, तराई–मधेशका समस्याहरू समाधानको उपाय र संविधान कार्यान्वयनलाई बढी प्राथमिकताका साथ अगाडि बढाउनुभएको छ । देशमा संविधान त आयो तर संविधान आउने वित्तिकै तराई–मधेशमा अत्यन्त ठूलो असन्तुष्टि देखियो । त्यसका कारण जुन उत्साहका साथ संविधानको स्वागत हुनुपर्ने हो र संविधानले नयाँ नेपाल निर्माण गर्ला भनेर परिकल्पना गरिएको थियो त्यसमा तुषारापात लाग्यो । संविधान बन्दै गर्दा मैलै भन्दै आएको थिए कि पहिलो संविधानसभाको दुई वर्षको कार्यकालमा संविधान नआएपछि दुई वर्ष थपेर चार वर्ष बनाइयो त्यही पनि संविधान बनेन दोस्रो संविधानसभाको कार्यकाल नै जम्मा चार वर्षको छ भने एक वर्षभित्र संविधान बन्न नसकेपछि केही समय थपेर संविधानको घोषणा गरेको भएपनि हुन्थ्यो हतार हतारमा संविधान घोषणा गरेर अहिले केहीमा पछुतो भइरहेको छ ।
० कांग्रेसको विगतको नेतृत्वबाट केही त्रुटि भएकै हो त ?
— सबैबाट गल्ती भयो । तराईमा ६ महिनादेखि बन्द हड्ताल चलिरह्यो । त्यसैको कारणले हजारौं उद्योगधन्दाहरू बन्द भए । हजारौं बेरोजगार भए । पुरै नेपाल त्यसबाट प्रभावित भयो । त्यसमा नेपालको तराई र मधेशमा त झन् बढी प्रभावमा प¥यो । तराई–मधेशमा व्याप्त असन्तुष्टि हुँदा पनि त्यसको खासै सम्बोधन नभईकनै एक चरणको आन्दोलन समाप्त भएको स्थिति भएको हुनाले अबको दिनमा ती समस्या समाधानतिर सरकार र कांग्रेसको ध्यान जानु जरूरी भइसकेको छ ।
० अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ र नयाँ नेतृत्वले मधेशलाई कसरी समेटेर मधेशको एजेन्डालाई कार्यान्वयन गरेर अगाडि बढ्छ होला ?
— यो विषयमा त गम्भीरतापूर्वक पार्टीभित्र छलफल हुनुपर्छ । भर्खर केन्द्रीय नेतृत्व आएको छ । अबको दिनमा पार्टीले लिनुपर्ने दिशाको बारेमा छलफल हुन्छ । तराई–मधेश त नेपाली कांग्रेसको सबैभन्दा मजबुत स्थान हो । त्यहींबाट सात सालको क्रान्ति पनि सुरू भयो । त्यस पछाडिका क्रान्तिहरूमा पनि त्यहाँको ठूलो भूमिका छ र नेपाली कांग्रेसलाई पटक– पटक सत्तामा पु¥याउनका लागि पनि मधेशको ठूलो भूमिका छ । मधेश असन्तुष्ट हुनुको कारण सीमांकन नै हो तर सीमांकन मात्र पनि मधेशको समस्या नहुन सक्छ । त्यहाँ बेरोजगारी त्यतिकै छ । त्यहाँ राम्रोसँग विकास हुन सकेको छैन । भेदभावका कुराहरू त्यतिकै छन् । महिला अधिकारका कुराहरू त्यतिकै छन् । ती विषयहरूलाई पनि समग्र रूपमा समाधानतिर लगेर जनताको जीवनस्तर उठाउने कुरा जुन छ त्यसमा तराईलाई केन्द्रबिन्दु बनाएर विकास निर्माणका लागि पनि महत्वपूर्ण योजना बनाउनतिर ध्यान दिनुपर्ला । सीमांकनकै सन्दर्भमा पनि छलफल गरेर कस्तो प्रदेशहरू बनाउनु पर्ने कतिवटा बनाउनुपर्ने हो र समग्रमा कसो गर्दा नेपाल राष्ट्रको राष्ट्रिय एकता र अखण्डता पनि मजबुत हुन्छ र स्थानीय स्तरका जनताको भावना पनि सम्बोधन हुन्छ भन्ने बारेमा पनि गहन छलफल हुन जरूरी छ । जनताको बीचमा गएर गर्नुपर्ने निर्णय हतारमा काठमाडौंबाट गरेको हुनाले त्यसको परिणाम देशले नराम्रोसँग भोग्नुप¥यो ।
० मधेशी जनताको सामु अब कांग्रेसले आत्मालोचना गर्दै अगाडि बढ्ला त ?
— आत्मलोचना गर्नुपर्ने ठाउँमा गर्नु पनि पर्छ । तर, कांग्रेसको एक्लो प्रयासबाट मात्रै मधेशमा उठेका माग र त्यहाँका आवाजहरूको सम्बोधन गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न पनि त्यतिकै महत्वपूर्ण छ । नेकपा एमाले पनि त्यत्तिकै बलियो पार्टी छ र अहिले सरकारको नेतृत्व पनि उसले नै गर्दैछ । एमाओवादी लगायत तराई–मधेशमा पनि धेरै पार्टीहरू छन् यी सबै पार्टीको छुट्टाछुट्टै धारणा छ । त्यसैले कांग्रेस एक्लैले चाहेर मात्रै सबै समस्याको समाधान हुन सक्ने स्थिति त छैन । तर, नेतृत्व कांग्रेसले लिनुपर्छ । नेतृत्व लिइरहँदा तराई–मधेशका बहुमत जनताहरूको भावना के हो भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्छ । मधेशमा आन्दोलन एकतर्फी ढंगले अगाडि बढ्यो तर त्यहाँका बहुमत जनता के चाहन्छन् भन्ने कुरा त्यहाँ दबिएर रहेको छ । बहुमत जनताहरू समग्र रूपमा राष्ट्र बलियो होस्, हिमाल र पहाडमा रहेको साधन र स्रोत पनि तराईका जनताले उपभोग गर्न पाऊन्, तराईमा रहेको साधन स्रोत पनि हिमाल र पहाडका जनताले उपभोग गर्न पाऊन् भन्नेमा तराईका बहुसंख्यक जनताहरू छन् ।
० तपाईको विचारमा अब सरकार छिट्टै परिवर्तन हुन्छ ?
— अहिले सरकार परिवर्तन प्राथमिकतामा छैन भन्ने अभिव्यक्तिहरू आइरहेको छ । केपी ओलीको नेतृत्वमा सरकार बनेको ६÷७ महिना भइसक्दा पनि मधेशमा देखिएको समस्या समाधान भएर मुलुकले जसरी गति लिनुपर्ने हो त्यस्तो नभइरहँदा यो सरकार कुनै न कुनै रूपमा परिवर्तन हुन्छ जस्तो लाग्छ ।
० मधेश आन्दोलन पटक पटक भयो । कांग्रेसको आधारशिला मधेश नै हो, तर कांग्रेसले त्यो अनुसार जिम्मेवारी किन लिन सकेन ?
— नेतृत्वमा कांग्रेस हुँदा नै अहिलेको मधेश आन्दोलन सुरू भएको हुनाले त्यसको जिम्मेवारी कांग्रेसले अवश्य लिनुपर्छ । कांग्रेसको नेतृत्वले मधेशको समस्या समाधन गर्न जति प्रयास गर्नुपर्दथ्यो त्यो गर्न सकेन । अबको दिनमा कांग्रेसले देशको सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि सबैलाई समेटेर सोचेर अगाडि बढ्नुपर्छ । संविधानको मस्यौदा बनिसकेपछि त्यो मस्यौदा लिएर मधेशमा गएर एक दुई महिना छलफल गर्दा के बिग्रिन्थ्यो । हतार हतारमा थपडी बजाएर पास गराइयो । हतार गरेर असोज ३ गते संविधान जारी गरेर यो ६ महिनामा पनि मुलुकले विनाश बाहेक केही पाएन नि । संविधान जारी भएपछि जति समय हामीले दुःख पाएर बितायौं त्यो समय छलफलमा, सहमति, सहकार्यमा र तराईका जनताको भावना बुझ्ने काममा खर्च गरेको भए नयाँ संविधान अलि परिमार्जित सर्वस्वीकार्य भएर आउँथ्यो होला ।
० मधेश केन्द्रित दलका ११ बुँदे एजेन्डाहरूमा तपाईको टिप्पणी के छ ?
— ११ बुँदे मागको सन्दर्भमा असन्तुष्टि जनाउनु पर्ने खासै विषयवस्तु छैनन् । सबैभन्दा जटिल सींमाकनको विषय हो । अहिले भइरहेको सात प्रदेश बनाउँदा जनताको भावना र वैज्ञानिक आधार लिएर बनाइएको छैन । पाँचजना कोठामा बसेर संघीयताको खाँका बनाइन्छ । त्यहीं नै तरिका मिल्दैन बाहिर आउँदा । एउटा खाँका आइसके पछाडि त्यसलाई फाईनल नगरीकन अब त्यसलाई कसरी मिलाउने त्यो ठाउँको तीव्र गतिमा विकास हुनुप¥यो र त्यहाँका जनताको समावेशी भावनाको प्रतिनिधित्व पनि हुनुप¥यो ।
० मधेशमा दुई प्रदेशको कुरामा तपाईको धारणा के छ ?
— दुई प्रदेशको सन्दर्भमा दुवै तर्फ कडा किसिमका अडानहरू छन् । शेरबहादुर देउवाले कैलाली र कन्चनपुर कुनैपनि हालतमा मधेश प्रदेशमा आउँदैन भनिराख्नुभएको छ । सडकमा भएको आन्दोलनको आधारमा मात्र सीमांकनको निर्णय नगरिकन अलिकति वैज्ञानिक ढंगले पहिचान र विकासका कुरालाई सम्बोधन गर्ने गरी सीमांकनको टुंगो लाग्नुपर्छ ।
० मधेश केन्द्रित दलको दुई प्रदेशको मागलाई राष्ट्रिय अखण्डतासँग पनि जोडेर हेर्ने गरिन्छ तपाईलाई के लाग्छ ?
— नेपालमा सम्पूर्ण क्षेत्रमा बस्ने नेपालीहरू यो राष्ट्र, राष्ट्रियता र अखण्डताप्रति प्रतिबद्ध छन् । बिपी कोइरालाको एउटा भनाई छ ‘तराईमा बस्ने दाजुभाईहरू पर्वतमा बस्ने पर्वतेहरू र नेवारहरू नेपालमा छन् । यी तिनवटै राष्ट्रवादी छन् । यिनीहरूले गर्दा नै नेपाल राष्ट्र जोगिएको छ’ । मधेशमा दुई प्रदेश हुने बित्तिकै देश टुक्रिएर जाने अथवा प्रदेशको माग गर्ने बित्तिकै देश टुक्रिएर जाने भन्ने ठिक कुरा होइन । यस्तो कुराहरूले तराईका जनतालाई राष्ट्र विरोधी भन्ने ढंगले प्रस्तुत गर्नु हुँदैन । मधेशमा दुई प्रदेश हुँदा देश टक्रिन्छ भन्नु अतिवादी सोच हो ।
० तपाई हिन्दु राष्ट्र महाअभियानका प्रवक्ता पनि हुनुहुन्छ । अहिले कांग्रेसको नयाँ नेतृत्वमा प्रायः हिन्दु पक्षधरहरूले नै विजय प्राप्त गरेको अवस्था छ । अब कतै न कतै यो मुलुकलाई हिन्दु राष्ट्र बनाउन लागिँदैछ र यो पक्ष बलियो भएको छ भनेर पनि विश्लेषण गर्न थालिएको छ यसमा तपाई के भन्नुहुन्छ ?
— अहिले कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला विजयी हुनुभयो । निर्वाचन हुनुभन्दा १५ दिनजति अगाडि बीबीसीमा उहाँले प्रष्टसँग धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको सन्दर्भमा पनि जे जे पार्टीले लिएका निर्णयहरू छन् त्यसमा पुनर्विचार गर्नुपर्छ । कांग्रेसको ७० वर्षको इतिहासको पुनर्विचार गर्नुपर्छ । यदि पछाडि फर्कनुपर्ने भए फर्कनुपर्छ । देशको राष्ट्रियतालाई केन्द्रमा राखेर यो काम गर्नुपर्छ भनेर । हामीले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ भनिरहँदा अन्य धर्माबलम्बीहरूको अधिकार खोस्ने भन्ने पटक्कै होइन । नेपाल हिन्दु राष्ट्र भयो भने हिमाल, पहाड र तराईलाई एकजुट बनाउँछ ।
० प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको हो त ?
— केही न केही परिस्थितिमा परिवर्तन त आयो तर उहाँको जुन सम्मान भएको थियो त्यो परिणाम हेर्दा भ्रमण त्यति सफल भएको जस्तो लाग्दैन । नेपालको सबैभन्दा महत्वपूर्ण सम्बन्ध भारतसँग रहेको छ । नेपालले आफ्नो बजार खोस्न भारतबाट अन्त जानै पर्दैन । दुवै सार्वभौसत्ता सम्पन्न राष्ट्र हुन् एकले अर्को देशलाई सम्पन्न गर्नुपर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ३ : २६ बजे