१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल राष्ट्रिय वाणिज्य संघ झापा अधिवेशनको तयारीमा


१३ चैत्र २०७२, शनिबार  

0
Shares

बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला कार्य समिति झापाको आगामी चैत १५ गते बिर्तामोडमा हुने प्रथम अधिवेशनको तयारी पूरा भएको छ ।

झापाका २५ सय हाराहारी सदस्य संगठित रहेको सो संघ नेकपा एमालेको जनवर्गीय संगठन हो । २०६९ साल चैत १२ गते गठित सो संगठनमा प्रगतिशील तथा लोकतान्त्रिक व्यवसायीहरु आबद्ध रहेका जनाइएको छ ।

संघको जिल्ला अधिवेशन उद्घाटन गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल आउने जानकारी दिइएको छ । अध्यक्ष प्रल्हादमणि ओली र सचिव भिष्मराज खरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जिल्लाका ८ वटै नगरपालिका र ११ वटा गाविसमा संघका शाखा कमिटीहरु गठन भइसकेको तथा अधिवेशनमा ३५० जना प्रतिनिधिहरु सहभागी हुने उल्लेख गरिएको छ ।

प्रथम अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने जनाइएको छ । जिल्लामा संघको शाखा गठन भएपछि सामाजिक सरोकारका विभिन्न काम गरिरहेको बताउँदै अध्यक्ष ओलीले मुख्यतया ताप्लेजुङका आगलागी पीडित र महा–भुकम्पबाट थाँतबास गुमाएकाहरुलाई सहयोग गरेको जनाए ।

यस्तै नगर क्षेत्रमा रक्तदान, सरसफाई, पान सप्ताह गरेर व्यवसायिक र सामाजिक क्षेत्रमा क्रियाशिल भएको जनाए । संघले केन्द्रदेखि गाविस, नगरपालिका स्तरीयसम्म कमिटी गठन गरेर राज्यभर व्याप्त कालोबजारी, घुसखोरी, भ्रष्टाचारको अन्त्य गर्न चेतनामुलक कामहरु गर्दै आएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : १३ चैत्र २०७२, शनिबार  ४ : ३१ बजे