१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी मार्ग निर्माणमा ढिलाई


१६ चैत्र २०७२, मंगलबार  

0
Shares

hulaki photo
पुर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गतको बाटो

मुलकको दक्षिणी भागको विकासमा महत्वपूर्ण भुमिका खेल्ने भनिएको हुलाकी मार्गको निर्माण सुस्त भएको छ । तराईका २० जिल्लालाई छिचोल्ने यो मार्ग निर्माणका लागि पूर्वपश्चिम ९ सय ७५ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
सोही मार्ग अन्तर्गत झापा तथा मोरङमा पर्ने अधिकांश संरचना अधुरै छन् भने निर्माण कार्य पनि रोकिएको छ । सडकको कुल एक हजार ७ सय ९२ किलोमिटर मध्ये हालसम्म धनगढीबाट बर्दियाको सतीघाटसम्म ४३  र लम्कीदेखि टीकापुरसम्म २७ गरी ७० किलोमिटर मात्र सडक कालोपत्रे भएको हो । सुदूरपश्चिमका केही जिल्लामा हुलाकी सडक निर्माण भए पनि पूर्वमा भने यो क्रम सुस्त रहेको छ ।
झापा क्षेत्र नं. ६ का सांसद दिपक कार्की हुलाकी मार्गले नेपालको विकासमा नयाँ गति दिने भएकाले यसलाई तीव्रता दिनु पर्ने बताउँछन् । भारतीय सहयोगमा निर्माण हुने भनिएको यो मार्ग प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि भारतले निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने बताएको थियो । तर सडक निर्माण कार्य हालसम्म  ओल्झेलमा छ ।  हुलाकी मार्ग निर्माण भएपछि दक्षिणी क्षेत्रहरुमा पनि सहरीकरणमा सघाउ पुग्ने भएकाले यसको निर्माणमा प्राथमिकता दिनु पर्छ  ।
पूर्वपश्चिम हुलाकी राजमार्गमा आवश्यक पर्ने १ सय ५० वटा पुलमध्ये ४५ वटा पुरा भएको, ५८ वटा निर्माणधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । हालसम्मको कार्यप्रगतिले हुलाकी सडकलाई राजमार्गमा रुपान्तरण कार्य हुलाकबाट चिठी प्राप्त भएजस्तै कछुवाको गतिमा अघि बढेको पाइएको छ । पछिल्लो समय ३ सय ६० किलोमिटर सडकका लागि टेन्डर प्रक्रिया अघि बढे पनि सहमति अनुसारको भारतीय पक्षबाट रकम प्राप्त गर्न केही समय लाग्ने तथा अर्थमन्त्रालयबाट समेत माग गरे अनुसार बजेट निकासा नहुँदा काममा प्रगति हासिल गर्न नसकिएको उपप्रधानमन्त्री एवम् भौतिक योजना मन्त्री विजय कुमार गच्दारले बताए । अर्थमन्त्रालयसँग एक अर्ब आठ करोड रुपैयाँ अझै रकम प्राप्त नभएको उनले जनाएका छन् ।
सात मिटर चौडाई रहने उक्त सडक निर्माणका लागि भारतले आठ अर्ब  र नेपालले रु. ५ अर्ब लगानी गर्ने सहमति भएको छ । २० बर्षे दीर्घकालीन गुरुयोजनाले पूर्व पश्चिम राजमार्गको सामान्तर सीमा क्षेत्रको नजिकबाट तराईका २० जिल्ला छिचोल्ने गरी हुलाकी राजमार्ग निर्माण गर्ने परिकल्पना गरेको हो । नेपालको तराई क्षेत्रमा हुलाकीहरुले चिठीपत्र लिएर हिँडने उत्तर दक्षिणका छोटा बाटाहरुलाई कालोपत्रेस्तरमा स्तरोन्नति गरे पनि पूर्वपश्चिम छिचोल्ने कार्यप्रगति सन्तोष गर्न सकिने अवस्थामा पाइदैन । तराईमा सडक सञ्जालको विकास गर्नुपर्ने अपरिहार्यलाई ध्यानमा राखेर हुलाकी राजमार्गबाहेक अरु ३० वटा सहायक मार्गको पनि स्तरोन्नति गर्नुपर्ने खाँचो औंल्याइएको छ । तराईका ग्रामीण भेगकासम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको बजारीकरण, रोजगारीको अवसर वृद्वि, गरिबी निवारणमा सघाउ पुऱ्याउने तथा भौतिक पूर्वाधार विकासको मेरुदण्डका रुपमा काम गर्ने यो सडक निर्माणको मुख्य उद्येश्य रहेको छ । नेपाल–भारतबीच तराइका विभिन्न भागलाई एकापसमा जोड्ने सडक निर्माणका लागि सन् २००४ मा प्रारम्भिक सर्भे पूरा भएपछि सन् २००६ मा भारतले ती सडक निर्माण गर्ने सहमति जनाएको थियो । यस्तै हुलाकी मार्गलाई मध्यविन्दु मानेर ८ सय १७ किलोमिटर उत्तर दक्षिण जोड्ने ३० वटा सहायक सडक स्तरोन्नति हुनेछ । पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ १५ देखि २० किलोमिटरको दूरीमा हुलाकी राजमार्ग कायम रहने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७२, मंगलबार  ७ : ३४ बजे