‘सर्वाेपरि सुधारमा सर्वपक्षीय चासो हुनुपर्छ’ : वडा अध्यक्ष महताे

20200213_162120

स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार सम्हालेको अढाई वर्ष पुगेको छ । २०७४ को जेठमा सम्पन्न निर्वाचनबाट गौरीगंज गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हो मखना महतो । स्थानीय क्षेत्रमा व्यवसायी नेताको पहिचान बनाउनु भएका महतो वडाध्यक्षमा निर्वाचित भईसकेपछि गौरीगंज गाउँपालिकाको सामाजिक विकास समिति संयोजकको समेत जिम्मेवारीमा हुनुहुन्छ । प्रस्तुत छ गौरीगंज ३ को विकास, निमार्ण र कार्यालयको समिक्षासहित वडाध्यक्ष महतोसंग गरिएको कुराकानी:

तपाईले ५ वर्षे कार्यलयको आधा समय विताईसक्नु भएको छ, जनतामा माझमा गर्नुभएको चुनावी प्रतिबद्धता के थियो ? र ति कति पूरा भए ?
हो, हामीले जनप्रतिनिधिका रुपमा कार्यभार सम्हालेको अढाई वर्ष हाम्रो कार्यकालको आधा समय हो । यस बीचमा जनताको काम गर्ने सिलसिलामा भएका कामको समिक्षा विल्कुलै जरुरी विषय हो भन्ने मलाई लाग्छ । मेरो सवालमा मैले चुनावताका राखेका थुप्रै प्रतिबद्धताहरु थिए । ति प्रतिबद्धताप्रति म अझैपनि प्रतिबद्ध छु । मैले यो वडालाई गाउँपालिका भित्रकै नमुना वडा बनाउने प्रतिबद्धता गरेको थिएँ । त्यो अनुसार हाम्रो वडा नमुना ढंगबाट नै अघि बढिरहेको छ । मैले भनेको थिएँ कि वडामा हरेक झुपडी हुन वा महल सबैका घर घरमा एम्बुलेन्स पुग्न सक्ने गरिका सडक बनाउने छु भनेर । त्यो निरन्तर अघि बढिरहेको छ । अहिले सम्म लगभग ८० प्रतिशत वडाबासीका घरमै एम्बुलेन्स पुग्न सक्ने गरि सडक विकास गरिएको छ । अब दुई वर्षको अवधिमा २० प्रतिशतका घरमा पनि बाटो घाटो विकास भएको अनुभूति हुनेछ । हाम्रो वडामा संघीय सरकारले सहरी विकास मार्फत सञ्चालन गर्दै योजना अन्र्तगत १ हजार ७ सय मिटर सडक पक्की ड्रेनसहितको बनिरहेको छ । त्यस्तै कृपाल टोलदेखि हुलाकी बाटोमा जोड्ने १ हजार २ सय मिटर लामो बाटोमा पिच हुँदैछ । यसका लागी ३५ लाख रुपैँया बजेट छ । क्याम्पस नजिकै लेरा खोलामा ६५ लाखको बजेटमा पूल बन्दैछ । त्यस्तै बैसीटोलामा ३५ लाख रुपैँया पूल निमार्णका लागी बजेट छुटिएको छ । गौरीया खोलामा ज्ञानोदय बोर्डिङ्ग उत्तर पट्टी ट्रस्ट ब्रीजमा लागी बजेटिङ भएको छ । यी केही उदाहरण हुन् । यसबाहेक पनि वडाको बजेट सिलिङ भित्र रहेर हामीले पूर्वाधार विकासको काम गरिरहेका छौँ । वडा भित्र कुनै पनि सडक ९ मिटर भन्दा कम चौडाका छैनन् । सबै सडकहरुलाई मापदण्ड अनुसारको कायम गराउने र स्तरोन्ती गर्दै लगिनेछ । संगै अति विपन्न वर्ग, सिमान्तकृत समुदाय लक्षित कार्यक्रमहरु पनि गरिरहेका छौँ । हामीले गरिरहेका काम कार्यक्रमहरु योजनाहरमा सम्पुर्ण सञ्चार जगत र वडाबासीको बौद्धिक वर्गहरुको पनि राय, सुझावको अपेक्षा गरेका छौँ ।

वडा नं. ३ बजार क्षेत्र हो, यहाँको सुरक्षाका विषयमा स्थानीय सरकारको के भुमिका छ ?
हो, म जहिले पनि भन्ने गर्छु कि पुर्ण सुरक्षाको प्रत्याभुति नभए सम्म कुनै पनि विकासको औचित्य हुँदैन । वडावासीमा सबैभन्दा पहिला सुरक्षाको प्रत्याभुति हुनुपर्छ । बजार क्षेत्रमा स्वभाविक रुपले अन्य क्षेत्रको भन्दा बढीनै सुरक्षा चुनौती हुन्छ । त्यसकारण यहाँको सुरक्षा निकाय परिचालनको जिम्मेवारी यहाँ रहने ईलाका प्रहरी कार्यालयको हो । त्यो कार्यालयको अवस्था के कस्तो छ ? समस्याहरु के छन् ? प्रहरीले तत्काल कुनै स्थानमा पुग्नका लागि आवश्यक स्रोत साधन छ कि छैन ? जस्ता कुरामा हामी स्थानीय सरकारले पनि जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ । त्यसकारण मैले हरेक वर्ष वडाको बजेट कार्यक्रम बनाउँदै गर्दा सुरक्षा निकायलाई सहयोग पुग्ने गरीको बजेट बनाउने गरेको छु । प्रहरी कार्यालयका सवारी साधनहरुको मर्मत, आवश्यक इन्धनको व्यवस्थापना लागि गत वर्ष सम्म वर्षेनी एक लाख रुपैँयाका दरले बजेट छुट्टयाएको थियो । यस वर्ष ५० हजार रुपैँया छ ।

वडामा शिक्षाको अवस्था कस्तो छ ? सामुदायिक शिक्षा सुधारका लागि के गरिरहनु भएको छ ?
म वडाध्यक्षसंगै गाउँपालिकाका सामाजिक विकास संयोजक समेत हुनुका नाताले यहाँको शिक्षा अवस्थाका बारेमा मैले पर्याप्त जानकारी राखेकै छु । म आफैँ यहाँको सामुदायिक शिक्षाको गुणस्तरमा अपेक्षाकृत सुधार हुन सकेको छैन । संगैमा बोर्डिङ स्कुलमा मासिक ८ / १० हजार पनि मुश्किलले तलब पाउने शिक्षकले पढाएका विद्यार्थीको पढाईको स्तर राम्रो हुनु र सामुदायिकका विद्यार्थीको स्तर कमजोर हुनुले प्रष्ट पार्छ कि शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकको भुमिकानै महत्वपुर्ण हुन्छ । कमजोरी कहाँ केमा कसको छ ? त्यसका विज्ञ भनेको शिक्षकहरुनै हो । उहाँहरुले कमजोरीलाई औँल्याउँदै सुधार गर्नुपर्ने कुराहरु सुझावका रुपमा राखेर सामुदायिक विद्यालयमै विद्यार्थीको आकर्षण हुने वातावरण बनाउनु पर्यो । विद्यार्थी संख्याको कमी छैन मेरो वडामा २ प्रावि र १ मावि छन् । २ हजार हाराहारीमा सामुदायिकका विद्यार्थी छन् । तर तिनीहरुको शैक्षिक गुणस्तर त राम्रो हुनुपर्यो नि । रिजल्ट राम्रो निकाल्नु पर्यो ।

त्यसो भए सामुदायिकको सुधारका लागि गर्नुपर्ने चाहिँ के देख्नु हुन्छ ? तपाई स्थानीय सरकारको भुमिका चाहिँ केहि हुँदैन ?
सुधारमा सर्वपक्षीय चासो हुनुपर्छ । हाम्रो भुमिका पनि त्यहाँ रहन्छ । तर मैले भन्न खोजेको शैक्षिक वातावरण राम्रो बनाउन सबैभन्दा पहिला शिक्षकनै इमान्दार हुनुपर्यो । विद्यालयको समयदेखि समयसम्म स्कुलमा रहनु पर्यो । क्लासमा हुनुपर्यो । हाजिर गरेर बाहिर निस्किने परम्पराको अन्त्य हुनुपर्यो । हामीले जहिले सुकै रुघेर बस्ने कुरा भएन । शिक्षक आफैँमा नैतिकता र अनुशासन सिकाउने जिम्मेवार पेशाको नागरिक भएको हुनाले उहाँहरु आफैँ अनुशासित भएर इमान्दारपूर्वक लाग्नु भयो भने सामुदायिक स्कुलको शिक्षामा सुधार हुन्छ । हाम्रो भुमिका उहाँहरुले बनाएको वातावरणमा सघाउने हो । भौतिक पूर्वाधारदेखि अन्य कुराहरुमा हाम्रो भुमिका हुन्छ । अर्को कुरा शिक्षकहरुको सरुवा, बढुवामा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सकेमा हाम्रो तर्फबाट गर्न सकिने कडाई, हामीले बनाएका नियम कानुनहरुमा पालना गराउन सहज हुन्छ । संघ र प्रदेश सरकारले बनाउने शिक्षक सम्बन्धिका ऐन कानूनहरुमा स्थानीय सरकारलाई शिक्षक सरुवा बढुवा र कारवाहीको अधिकार हुने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।

आर्थिक विपन्नताका कारण छोराछोरीलाई स्कुल पठाउन नसक्ने अभिभावकहरुको अवस्था छ कि छैन ?
मलाई जहाँ सम्म लाग्छ अहिले हरेक घर परिवार आर्थिक पाटोमा निक्कै अघि बढिसकेका छन् । कसैले पनि आफ्ना छोराछोरीलाई स्कुल पठाउनका लागि खर्चकै अभाव झेल्नु परिरहेको छैन । हामी स्थानीय सरकारले पनि सामुदायिकमा पढ्ने बालबालिकाहरुलाई आकर्षित र प्रोत्साहित गर्ने खालका सहयोगका कार्यक्रमहरु बेला बेलामा ल्याइनै रहेका छौँ । मात्रै अभिभावकहरुले सामुदायिक विद्यालयको गुणस्तरमा विश्वास गरिरहनु भएको छैन । त्यो विश्वास दिलाउने काममा विद्यालयहरु लाग्नु पर्छ । अभिभावकहरुलाई जागृत बनाउने काममा लाग्नु पर्छ ।

तपाईका वडाबासीहरुको स्वास्थ्यमा पहुँच कस्तो छ ? स्वास्थ्य बीमा कार्यक्रममा आकर्षित हुन नसक्नुको कारण के हो ?
पहिलो कुरा त हाम्रो गौरीगंजमा एउटा स्वास्थ्य केन्द्र छ । जहाँ एमबीबीएस डाक्टरको सुविधा हुनुपर्ने हो त्यो हुन सकेको छैन । दरबन्दी भएपनि डाक्टर नआउने समस्याले यस भेगका सर्वसाधारणहरु स्तरीय उपचार सेवाका लागि बाहिर जानुपर्ने अवस्था छदैछ । स्वास्थ्य केन्द्रका लागि आएका उपकरणहरु पनि सदुपयोग हुन सकेको छैनन् । यहाँका उपकरणहरुलाई सदुपयोग गर्ने हो भने सामान्य शुल्क तिरेर पनि जनताले सेवा लिन सक्ने थिए । अर्को स्वास्थ्य बीमाको कार्यक्रम जुन छ यसका विषयमा हाम्रो गौरीगंजका धेरै मानिसहरु अझै पनि अनभिज्ञ नै हुनुहुन्छ । यो योजना राम्रो हो । सरकारले ल्याएको नीति अनुसार यसको कार्यान्वयनका लागी पहिलो कुरा त यो कार्यक्रम लागू गरेका अस्पतालहरु इमान्दार हुनुपर्छ । पाउन सकिने सेवा सुविधा दिइनु पर्छ । त्यसो भयो भने हामीले वडाका टोल टोलमा गएर स्वास्थ्य बीमा गराउने कर्मचारीहरु मर्फत अरु किसिमका स्वास्थ्यकर्मीहरु मार्फत सर्वसाधारणलाई स्वास्थ्य बीमाका लागी प्रोत्साहन गर्न सकिन्छ । जनचेतनाका माध्यमबाट स्वास्थ्य बीमाकर्ताको संख्या बढाउन सकिन्छ । गाउँपालिकाले आर्थिक विपन्नता भएका सर्वसाधारणको स्वास्थ्य बीमाका लागि पचास प्रतिशत अर्थात आधा रकम ब्यहोर्ने निर्णय गरिसकेको छ । प्रति परिवार न्युनतम ३ हजार ५ सय रुपैँयामा एक वर्षका लागी स्वास्थ्य बीमा हुन्छ त्यसमा हामीले १ हजार ७ सय ५० रुपैयाँ प्रति परिवार ब्यहोर्ने कार्यक्रम पनि ल्याएका छौँ । यसबाट जति विपन्न नागरिकहरुले सेवा लिनुपर्ने हो त्यो लिइरहेको पाइँदैन । हामी आव्हान गर्न चाहन्छौँ हरेक परिवारले स्वास्थ्य बीमा गरेर राज्यले दिने सेवा सुविधाको उच्चतम सदुपयोग गर्नुहोस् । स्वस्थ जिवन विताउनुहोस् ।
वडामा आर्थिक विपन्नताका कारण समस्या झेलिरहेका नागरिकहरुका विषयमा सरकार के गरिरहेको छ ?
हाम्रो वडामा केही आर्थिक विपन्नताको अवस्था नभएको होइन । कतिपय परिवारहरु आर्थिक विपन्नताकै कारण न्युनतम आधारभूत आवश्यकताहरु पूरा गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ । त्यस्ता नागरिकहरुका विषयमा हामी हाम्रो विद्यमान ऐन, कानुन, नीति, नियम र परिधी भित्र रहेर जिविकोपार्जनका लागि सक्ने सहयोग गरिरहेका छौँ । सरकारले विपन्नहरुका लागि ल्याएको आवासको कार्यक्रमहरुमा पनि उहाँहरुलाई समेट्ने हाम्रो प्रयास छ । यो वडा भित्र एउटा सुदामभिट्टा टोल छ । जहाँ ४४ घर पासवान समुदायको बसोबास छ । त्यो टोलमा चुनाव अघिसम्म चप्पल पनि लगाएर गाउँपालिका आउन सक्ने अवस्था थिएन । अहिले हामीले निर्वाचन पछिनै सडकको विस्तार गरेका छौँ । शुरुमा नै हामीले त्यहाँ साढे ८ लाख रुपैयाँ बजेट हालेर विकासको शुरुवात गर्यौँ । त्यहाँ खानेपानीका लागी फिल्टर बाँडेका छौँ । हामीले वडामा कूल ९७ वटा घर बनाउने कार्यक्रम छ । संघीय र प्रदेश सरकारका साथै स्थानीय सरकारले सहयोगी संस्थाहरुको सहयोगमा त्यो कार्यक्रम अघि बढाउँदैछ । पहिलो चरणमा हामी वडा भित्र ३० घर बनाउँदैछौँ ।

गौरीगंजमा बसपार्क निर्माणको विषयमा समस्या आएको हो ?
यो कुनै समस्या होइन । बसपार्क यहाँ एउटा मात्रै नभएर दुईटा हुदाँ पनि केहि फरक पर्दैन । अहिले खजुरगाछीमा बसपार्क बनाउने योजना अघि बढिसक्यो । संघ र प्रदेश सरकारबाट बजेट आईसकेको छ । त्यसमा मेरो कुनै आपत्ति होइन । मात्रै गौरीगंज हालकको बस स्टेण्ड पनि छ । त्यहाँ पनि बसपार्क बनाउन सकिन्छ । करिब साढे आठ कठ्ठा जग्गा छ । करिब ७ लाख रुपैयाँको खर्चमा शौचालय बनाइएको छ । त्यहाँको जग्गा केही सर्वसाधारणहरुले उपयोग गरिरहनु भएको छ । उहाँहरसंग मैले कुराकानी गरेको छु । उहाँहरु त्यहाँ बसपार्क बन्दा खाली गर्न सहमत भईसकनु भएको छ । गाउँपालिकामै लिखित रुपमा उहाँहरु केही सहमति गर्न तयार हुनुहुन्छ । त्यसकारण गौरीगंज बसपार्क बनाउनका लागी डीपिआर तयार हुँदैछ । विस्तारै यहाँ बसपार्क बन्छ । वडा कार्यालयको आफ्नै भवन छैन, कहिले सम्म बस्ने भाडामा ? हाम्रो वडा कार्यालय अहिले सम्म भाडामा नै छ । हामीले वडा कार्यालय भवन बनाउने प्रकृया अघि बढाईसक्यौँ । सुचना प्रकाशित भईसकेको छ । यसको डीपीआर बनिसकेको छ । गापाले ६० लाख रुपैयाँ भवन बनाउनका लागि छुट्टयाईसकेको छ ।

    Comment Here!

गौरीगंज मिडिया प्रा.लि.द्वारा सञ्चालित

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. १६४७/०७६-७७
  • प्रकाशक/सम्पादक: आत्माराम राजवंशी
  • सह-सम्पादक दमयन्ती राजवंशी
  • कार्यालय सम्पर्क :- ०२३–४१२०२६ फोन नं. ९८०६०४८५५६ गौरीगंज, झापा

  • Design By Turup Sangroula